दार्चुला । बुधबार विहानैदेखि मौसम बदली भएपछि दार्चुलाको लेकाली भेगमा हिमपात भएको छ । ब्यास र अपिहिमाल गाउँपालिकाका अधिकासं लेकाली भेगमा तथा नौगाड, मार्मा, दुहुँ, मालिकार्जुन गाउँपालिकाका उच्च भू–भागहरूमा हिमपात भइरहेको र जिल्लाभरी हल्का बर्षा भइरहेको स्थानीय बासीन्दाले बताएका छन् ।
पटकपटकको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातले मानिससंगै गाईबस्तुहरूलाई पनि समस्या भएको छ । वर्षा र हिमपातका कारण चिसो बढेकोले घर बाहिर निस्कन समस्या भएको अपिहिमाल गाउँपालिकाका स्थानीय कलावती रोकायले बताउनुभयो । लगातारको वर्षा र हिमपातले जिल्लाभरी नै चिसो बढेको छ । लेकाली बस्तीहरूमा हिउँ जम्न सुरु भएको स्थानीयबासीन्दाले बताएका छन् । हिमपातका कारण माघ महिना घर्किन लाग्दा समेत चिसो घट्न सकेको छैन् ।
ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु र तिङ्कर गाउँमा पनि यो बर्ष दश/बाह्र पटक हिमपात भइसकेको छ । व्यास र अपिहिमाल गाउँपालिकाको गाउँसम्मै पटकपटक हिमपात भएको स्थानीयले बताएका छन् । गत साता दार्चुलाका सबै स्थानीय तहमा हिमपात भएको थियो । चिसोका कारण बालबालिका र बृद्धबृद्धा बढी समस्यामा परेका छन् ।
चिसोबाट बच्न न्यानो लुगा लगाउन, सावधानी अपनाएर आगो ताप्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले सुझाब दिएका छन् । पटकपटकको हिमपातका कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा समेत अवरुद्ध बनेको छ । सञ्चार अवरुद्ध हुदा सेवाग्राहीले समस्या भोग्न बाध्य भएको गुनासो गरेका छन् । भरपर्दो सञ्चार सेवा नहुदा बेलाबेला सञ्चारसम्पर्कबाट बिच्छेद हुनुपर्ने अवस्था रहेको स्थानीय कोमल खत्रीले बताउनुभयो ।
हिमपातमा युवायुवतीहरु रमाउने गरेका छन् । हिमपातको समयमा हिउँ खेलेका तस्बिरहरुले सामाजिक सञ्जाल भरिने गरेको फेसबुक प्रयोगकर्ताहरु बताउछन् ।
स्याउ खेतीमा सकारात्मक असर पर्ने
वर्षा र हिमपात भएसँगै दार्चुलाको हिमाली भेगमा उत्पादन गरिने स्याउ खेतीमा सकारात्मक असर पर्ने किसानहरुले बताएका छन् । यो वर्ष अत्याधिक वर्षा र हिमपात भएसँगै मानिसहरुको जनजीवन कष्टकर भएतापनि हिमाली भेगमा उत्पादन गरिने स्याउ खेती लगायत अन्य अन्नबाली समेत राम्रो उत्पादन हुने आशामा स्थानीय कृषकहरु छन । दार्चुलाको अपिहिमाल, व्याँस, नौगाड र मार्मा गाउँपालिकाको हिमाली भेगमा स्याउ खेती गर्ने गरिन्छ । पहाडी भेगका उत्पादित बोटहरुमा हिउँपर्दा असर पर्ने भएतापनि हिमाली भेगमा उत्पादित स्याउ खेतीमा भने पुष माघ महिनामा हिउँपर्नुले सकारात्मक असर पार्ने अपिहिमालका स्थानीय मदन कार्कीको भनाई छ ।
यसपालि वर्षासँगै हिमपात हुने गरेकोमा स्याउ पनि राम्रो फल्ने सक्ने संकेत देखिएको उहाँको भनाई छ । त्यस्तै हिमाली क्षेत्रमा उत्पादन गरिने हिउदे बाली, गँहु, जौँ, फापर पनि राम्रो फल्ने गर्दछ ।
अपिहिमालमा हिमपात तस्बिर: प्रमोदसिंह मन्याल

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया