दार्चुला । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूको घरमा कालो झण्डासहित ब्यानर झुण्ड्याएको छ । नेकपा विप्लवले ‘राष्ट्रघाती’ एमसीसी खारेज गर्न माग गर्दै बिहीवार महाकाली नगरपालिका–५ नमस्कारस्थित मन्त्री बडूको घरमा कालो झण्डा र ब्यानर झुण्ड्याएको नेकपा दार्चुलाका सचिव भरत मल्लले जानकारी दिनुभयो ।
नेकपा विप्लवका दार्चुला जिल्ला सचिव मल्लले मन्त्री बडूले ‘राष्ट्रघाती’ एमसीसी पारित गराउन सहयोग गरेका कारण विरोध स्वरुप उनको घरमा कालो झण्डा र ब्यानर लगाइएको बताउनुभयो । मन्त्री बडूलाई दलालको संज्ञा दिइएको उक्त ब्यानरमा ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देश बेच्न पाइदैन, दलाल सरकार चाँहिदैन’ लगायतका नारा पनि लेखिएको छ । यो विषयमा जानकारी नभएको दार्चुला प्रहरीको प्रतिक्रिया छ ।
जिल्ला सदरमुकाम खलङ्गादेखि करिब दुई किलोमिटरको दूरीमा रहेको मन्त्री बडूको उक्त घरमा कोही पनि बस्दैनन् तर गृह जिल्ला आएका बेला भने उहाँ सुरक्षा तैनाथीका साथ उक्त घरमा बस्ने गरेको बताइएको छ । मन्त्री बडूले एमसीसीको पक्षमा वकालत गरेकोले चेतावनी स्वरुप कालोझण्डा राखेको विप्लप नेताहरुले बताएका छन् ।
एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाले बिहीबार दिउँसो दार्चुला सदरमुकाम खलंगामा नारा, जुलुससहित प्रर्दशनसमेत गरेको सचिव मल्लले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया