दार्चुला । आसन्न स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा तालमेल हुन प्रदेश सरकारमा कांग्रेसको सहभागिता अनिवार्य हुनु पर्ने माग कांग्रेस बैठकमा उठेको छ ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिमा केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम सरकारमा सहभागी हुनु पर्ने कुरा उठाएका हुन् ।
प्रदेश सरकारमा कांग्रेसको सहभागिता नरहे सुदूरपश्चिममा तालमेल कठिन हुने उनको जिकिर छ । चुनावी प्रचारप्रचारका लागि कञ्चनपुरमा तोकिएका महरले बैठकमा राखेको विषय उल्लेख गर्दै भने, ‘६ वटा प्रदेशमा गठबन्धनको सरकार बन्ने तर सुदूरपश्चिम सरकारमा कांग्रेस किन नहुने ?
सुदूरपश्चिमका कांग्रेस सांसदले केन्द्रीय नेतृत्वलाई सरकारमा सहभागिताको वातावरण बनाउन आग्रह गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
गठबन्धनको संस्कृति अगाडि बढाउनका लागि पनि सुदूरपश्चिममा गठबन्धन सरकार निर्माण गर्नुपर्ने अनिवार्य सर्त रहेको नेता महरले बताए । केन्द्रीय परिचालन समितिले बुधबार पूर्णता पाएको थियो ।
परिचालन समितिले पूर्णता पाएसँगै बिहीबारका लागि बैठक डाकिएको हो । ५५ सदस्यीय समितिका ४८ जना बिहीबारको बैठकमा सहभागी भएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया