दार्चुला । सरकारले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय पाएका दार्चुलाका लालसिंह धामीलाई भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्त गरेको भेटिएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थायी घर भएका धामीलाई भूमि आयोग दार्चुलाको अध्यक्षमा नियुक्ति गरिएको हो । उहाँले शुक्रवार आयोगको काठमाडौंस्थित कार्यालयमा सपथ लिनुभएको छ ।
धामी अध्यक्ष नियुक्त भएपछि पीडित परिवार तथा दार्चुलाबासी आश्र्चयचकित भएका छन् । फैजदारी अभियोग लागेका धामीलाई अध्यक्ष बनाएसंगै सरकारको आलोचना समेत भइरहेको छ । मालिकाजुर्न गाउँपालिका–३ मा २०५५ साल माघ २१ गते भएको एउटा हत्या घटनामा धामी पक्राउ परेका थिए । भाइ लाटोसिंह धामीसँग मिलेर उनले आफ्नै एकजना छिमेकीको खुकुरी प्रहार गरी हत्या गरेको आरोप लागेको थियो । दाजुभाई दुबैलाई प्रहरीले पक्राउ गरेको थियो । दुबै जेल पर्न सक्ने भयले जेठो दाई लालसिंहले आफू एक्लैले हत्या गरेको बयान दिएका थिए । त्यसपछि भाइले ६ महिना मै सफाइ पाएका थिए भने उनलाई अदालतले १० वर्षको कैद सजाय सुनाएको थियो ।
कैद सजाय भुक्तानपछि कांग्रेस राजनीतिमा जोडिएका धामी कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूको सहयोगमा अध्यक्ष बन्न सफल भएको कांग्रेसकै कार्यकर्ताले बताएका छन् । नैतिक पतन र फौजदारी अपराधमा संलग्न भएको व्यक्तिलाई सरकारले नै सार्बजनिक पदमा नियुक्त गरेको भन्दै स्थानीयले बिरोध गरेका हुन् । ‘यो नैतिक र फौजदारी दुबै दृष्टिकोणबाट मिल्ने कुरा होइन्,’ एकजना कानून व्यवसायीले भन्नुभयो, ‘कानूनी रुपमै सरकारी निर्णयको प्रतिवाद गर्न सकिन्छ ।’ थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गर्दा दार्चुलाबाट धामी परेका हुन् । कानूनमन्त्री दिलेन्द्रप्रशाद बडूको गृह जिल्लाका धामी कांग्रेस कै कार्यकर्ता हुन् ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले धामीसहित ४३ जनालाई जिल्ला समितिको अध्यक्षमा नियुक्त गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया