दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना छोरालाई आफ्नै सचिवालयमा गुपचुप रुपमा जागिर दिएको खुलासा भएको छ।
मुख्यमन्त्री भट्टले प्रशासन सहायक (नायब सुब्बासरह) गुपचुप जागिर दिएको खुलेको हो।
मुख्यमन्त्री भट्टले आफ्ना छोरा विकाश भट्टलाई गत वैशाखमै प्रशासन सहायकमा नियुक्त गरेको भए पनि अहिले यो विषय बाहिर आएको हो।
मुख्यमन्त्रीमा नियुक्त भएको तीन वर्षसम्म स्वकीय सचिवालयमा प्रशासन सहायक पदमा कसैलाई नियुक्त नगरेका भट्टले छोराको योग्यता पुगेपछि गत वैशाखमै नियुक्त गरेका हुन्। भट्टले सो पदमा छोरालाई नियुक्त गरेको उनको निजी सचिवालयले नै पुष्टि गरेको हो।
निजी सचिवालयका सचिव कृष्णराज जोशीले भट्टलाई गत वैशाख २ गतेदेखि लागू हुने गरी स्वकीय सचिवालयमा काम गर्ने गरी प्रशासन सहायकमा नियुक्ति दिइएको बताउनुभयो।
यसअघि उक्त पदमा कुनै पनि व्यक्ति कार्यरत नभएको उनले जनाए। तीन वर्षसम्म पार्टीका कुनै पनि कार्यकर्तालाई नियुक्ति नदिएर रिक्त राखेको उक्त पदमा छोराको योग्यता पुगेपछि मुख्यमन्त्री भट्टले जागिर खुवाएको भन्दै नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि सिर्जना भएको छ।
मुख्यमन्त्री भट्टले पदभार ग्रहण गर्दा सुदूरपश्चिमबासीले अब रोजगारीका लागि भारत धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेका थिए तर चार वर्षसम्म कुनै पनि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न नसकेका उहाँले आफ्नै छोरालाई जागिर दिएपछि आलोचनासमेत भएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया