दार्चुला । लामो समयदेखि नेतृत्वविहीन बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेशका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले पाउनुभएको छ। उद्योगमन्त्री बडूलाई व्यापार घाटा न्यूनीकरणदेखि कालोबजारी नियन्त्रण गर्ने, आयात घटाएर अर्थतन्त्र जोगाउने जिम्मेवारी तथा चुनौती छ । मन्त्री बडूले देशको अर्थतन्त्र संकटतर्फ धकेलिइरहेको समयमा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । यतिबेला देशको अर्थतन्त्र चापमा छ । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारणले विश्वभर परेको महँगीको असर नेपालमा पनि देखिएको छ ।
देशको वैदेशिक व्यापारको स्थिति अहिलेसम्मकै खराब अवस्थामा छ । चालू आर्थिक वर्षको ९ महिना (साउन–फागुन) सम्म १३ खर्ब ८ अर्ब रुपैयाँको आयात तथा १ खर्ब ४७ अर्बको निर्यात भएको छ । यस अवधिसम्म वैदेशिक व्यापारमा ११ अर्ब ६० अर्बको घाटा छ । मन्त्री बडू समक्ष सबैभन्दा ठूलो चुनौती नै वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्नु हुनेछ । यसैगरी, निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको प्रयोग घटाउने, घट्दो वैदेशिक लगानी बढाउन भूमिका खेल्नुपर्ने तथा खाद्यान्न आपूर्तिमा आइरहेको समस्यालाई समाधान गर्नुपर्ने चुनौती छ । ‘बढ्दो व्यापार घाटा न्यूनीकरण गरेर देशको बिग्रँदो आर्थिक अवस्था जोगाउने मुख्य जिम्मेवारी बडूको काँधमा आएको अर्थविदहरु बताउछन् । अनावश्यक वस्तुको आयातबाट देशको विदेशी विनियममा दिनदिनै चाप परिरहेको छ । थप आयात बढेमा विदेशी विनिमयले चाप थेग्न सक्दैन ।’
मन्त्री बडूले तत्काल नेपालको अर्थतन्त्र सुधार्न योजनाबद्ध ढङ्गबाट साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका सह–प्राध्यापक डा. रमेशकुमार पौडेलले बताउनुभयो । लामो समयदेखि खाली मन्त्रालयको रिक्त पद पूर्ति हुन राम्रो विषय हो,’ उहाँले भन्नुभयो, ‘अब देशको औद्योगिक स्थितिलाई बढावा दिएर आयात घटाउनतर्फ तत्काल कदम चालिनुपर्छ ।’
विश्वव्यापी रूपमा मूल्य बढिरहेको इन्धनको विकल्पमा विद्युत्को खपत बढाउनुपर्ने उहाँले बताउनुभयो । यसका लागि आयात हुने विद्युतीय सामाग्री र सवारीको भन्सार सहजीकरण गरिनुपर्ने र विद्युतीय सामाग्रीको प्रयोगमा प्रोत्साहन दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । ‘देशको अर्थतन्त्रलाई अघि बढाउन योजनाबद्धरूपले साना तथा घरेलु उद्योग, मझौला उद्योग, पर्यटन, कृषि क्षेत्रलाई योजनबद्धरूपमा अघि लैजानुपर्छ,’ डा. पौडेलले भन्नुभयो, अविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुँदैछौँ । विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि अन्तर्राष्ट्रिरूपमा पाउँदै आएको व्यापार सुविधा हट्छ ।’ मन्त्री बडूले राष्ट्र–राष्ट्रसँग सम्झौता गरेर यस्ता सुविधा पुनः लिने गरेर काम गर्न सकेमा विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा समेत वैदेशिक व्यापारमा असर पर्दैन ।
रुस–युक्रेन युद्धको प्रभाव सबैभन्दा धेरै पेट्रोलियम पदार्थमा परेको छ । विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०२ अमेरिकी डलर कायम छ । यस्तै, नेपालमा पेट्रोल खरिद लागत १८२.९८ रुपैयाँ प्रतिलिटर र डिजेलको १७१ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर कायम छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै बचतमा रहेको नेपाल आयल निगमको ३४ अर्ब नाफा सकिएको छ । मूल्यवृद्धिसँगै निगमलाई मासिक अर्बौँ भार थोपरिएको छ । जुन, राष्ट्रलाई नै थपिएको भार हो । निगमका पूर्व कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल पेट्रोलियम पदार्थको घाटा नियन्त्रण गर्नु नै मन्त्री बडूको मुख्य चुनौतीका रूपमा रहेको बताउनुहुन्छ ।
कालोबजारी र मूल्यवृद्धि नियन्त्रण
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बजारको कालोबजारी, महँगी र कृत्रिम अभाव रोक्नु नै मन्त्री बडूको मुख्य चुनौती भएको बताउनुहुन्छ । यतिबेला बजारमा मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकिरहेको छ,’ उहाँले भन्नुभयो, ‘मन्त्री पद सम्हाले लगत्तै उहाँले बजारको अनियन्त्रित कालोबजारी र मूल्य वृद्धि घटाउनुपर्छ ।’ मन्त्री बडूले बजारको कालोबजारी, मूल्यवृद्धि, उपभोक्ता ठगी र कृत्रिम अभाव रोकेमा काम गर्न आएको ठहरिने र यी काम गर्न नसकेमा चुनावका लागि मात्रै मन्त्री पद सम्हालेको ठहरिने बानियाँको भनाइ छ । हाल बजारमा कोभिड महामारी र रुस–युक्रेन युद्धको असर देखाउँदै खाने तेल, कृषि सामाग्री, औषधिजन्य सामाग्री लगायत सबैजसो बस्नुको मूल्य बढेको छ ।
बिहीबार पदभार ग्रहण गर्दै मन्त्री बडूले मन्त्रालयमा लघु, घरेलु तथा साना उद्योग महाशाखा गठन गर्ने निर्णय गरेको उहाँको सचिवालयले जनाएको छ । यसअघि पटकपटक मन्त्री बन्ने अवसर पाएपनि लोकप्रिय तथा देशहितमा उल्लेख्य काम गर्न नसकेको भन्दै आलोचना खेप्ने गरेका मन्त्री बडूलाई महत्तपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहजिल्ला दार्चुलाका साथै समग्र देशको लागि काम गर्ने अवसर प्राप्त भएकोले अवसरको सदुपयोग गर्नुपर्ने शुभचिन्तकहरुको सुझाब छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया