दार्चुला । नेपाली कांग्रेसले दार्चुलामा नेकपा माओवादी केन्द्रसँग तालमेल गर्दा पनि हार व्यहोरेको छ । नौवटा पालिका रहेको दार्चुलामा कांग्रेसले पाँचवटामा प्रमुख पाएको थियो भने माओवादी केन्द्रले प्रमुख दिएको चारवटा पालिकामा उपप्रमुख उठाएको थियो । एकीकृत समाजवादी भने वडा तहमा भागबण्डा नमिलेको भन्दै केही स्थानीय तहमा एक्लै मैदानमा उत्रिएको थियो ।
कांग्रेसको भागमा महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन, दुहुँ र व्यास गाउँपालिका परेका थिए । सबै पालिकामा कांग्रेसले २०७४ सालको स्थानीय तह निर्वाचनमा जित निकालेको थियो । तर कांग्रेसले पालिका प्रमुख र उपप्रमुख दुवै तथा प्रमुख मात्रै उठाएका पालिकामा भने हार व्यहोरेको छ ।
माओवादीले प्रमुख उम्मेदवार उठाएर कांग्रेसले उपप्रमुख लिएको ठाउँमा भने जित हात पारेको छ । माओवादी केन्द्रले भने आफ्नो भागमा परेका चारवटै पालिकामा जितेको छ । दार्चुला घर भइ हाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहनुभएका कांग्रेसका प्रभावशाली मानिने नेता दिलेन्द्रप्रसाद बडूको गृहजिल्लामा कांग्रेशले गठबन्धन गर्दा एउटा पालिका प्रमुख समेत नजितेपछि अहिले चौतर्फी आलोचना भइरहेको छ । अहिले बडू प्रतिनिधिसभामा समानुपातिक कोटाबाट सांसद हुनुहुन्छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विकासबादी नेताको रुपमा चिनिने ठगुन्ना केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको थियो ।
कांग्रेसले गुमायो पहिले जितेका ५ पालिका
महाकाली नगरपालिकामा एमालेले कांग्रेसको पुरानो नतिजालाई उल्ट्याएको छ । मेयरमा एमालेका उम्मेदवार नरसिंह चैंसिरले कांग्रेसका उम्मेदवार हंसराज भट्टलाई पराजित गरेका छन् । चैंसिरले ५ हजार ३ मत ल्याएका छन् भने भट्टले ३ हजार ८८७ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा भट्टले नै चैंसिरलाई पराजित गरेका थिए । त्यतिबेला भट्टले ४ हजार ४३ मत ल्याएका थिए भने चैंसिर ३ हजार ४७६ मत ल्याउँदै पराजित भएका थिए । निवर्तमान उपमेयर कांग्रेसकी सुना बोहरा पनि यसपटक एमाले उम्मेदवारसँग पराजित भएकी छन् । एमालेकी दुर्गाकुमारी खत्रीले ४ हजार ६३६ मत ल्याउँदा बोहराको ४ हजार १८२ मत आएको छ । उनले २०७४ सालको निर्वाचनमा ४ हजार १३२ मत ल्याएकी थिइन् भने उनीसँग पराजित एमालेकी दुर्गादेवी धामीले ३ हजार ३७४ मत ल्याएकी थिइन् ।
शैल्यशिखर नगरपालिकामा पनि कांग्रेसका निर्वतमान मेयर र उपमेयर एमाले उम्मेदवारसँग पराजित भएका छन् । मेयरमा एमाले उम्मेदवार विजयसिंह धामी ५ हजार ५०९ मतसहित विजयी भएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह धामी ४ हजार ६६२ मत ल्याएर पराजित भएका छन् । उनले अघिल्लो निर्वाचनमा ३ हजार ९२९ मत ल्याएर एमालेबाट ३ हजार ४०२ मत प्राप्त गरेका गंगादत्त जोशीलाई पराजित गरेका थिए । त्यस्तै उपमेयरमा दोहोरिएर उम्मेदवारी दिएकी कांग्रेसकी कुमारी राजमती बम एमालेकी शान्ति खडायतसँग पराजित भएकी छन् । खडायतले ५ हजार ६४८ मत ल्याएर विजयी भएकी छन् भने बम ४ हजार ५७५ मतसहित पराजित भएकी छन् । बमले २०७४ सालको निर्वाचनमा ३ हजार ९२६ मत ल्याएर ३ हजार ५२१ मत ल्याएकी एमाले उम्मेदवार माधवीकुमारी धामीलाई पराजित गरेकी थिइन् ।
त्यस्तै मालिकार्जुन गाउँपालिकामा अध्यक्षमा एमालेले कांग्रेस उम्मेदवारलाई पराजित गरेका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रले एमालेलाई पराजित गरेको छ । अध्यक्षमा दोहोरिएर उठेका कांग्रेस उम्मेदवार नरेन्द्रसिंह धामी एमालेका हिरासिंह धामीसँग पराजित भएका छन् । हिराले ४ हजार ३४ ल्याएका छन् भने नरेन्द्र ३ हजार ३२२ मतमा सीमित हुन पुगे । २०७४ सालको निर्वाचनमा अध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका नरेन्द्रसिंह धामीले एमाले उम्मेदवार मोहनसिंह धामीलाई पराजित गरेका थिए । उपाध्यक्षमा माओवादीका उम्मेदवार कल्याणसिंह धामी ३ हजार ५६६ मतसहित जित निकाल्दै गर्दा एमालेकी उम्मेदवार गोमती भट्टले ३ हजार २६६ मत ल्याइन् । २०७४ सालको निर्वाचनमा उपाध्यक्षमा एमालेकी पुष्पा अवस्थी विजयी भएकी थिइन् ।
दुहुँ गाउँपालिकामा पनि कांग्रेसका निवर्तमान अध्यक्ष समेत रहेका पुलेन्द्रबहादुर कार्की एमालेका नरेन्द्रबहादुर सिंह बडालसँग पराजित भएका छन् । बडालले २ हजार ८८६ मत ल्याएका छन् भने कार्कीले २ हजार ७९६ मत ल्याए । अघिल्लो चुनावमा कार्कीले नै बडाललाई पराजित गरेका थिए । उपाध्यक्षमा भने कांग्रेसकी शान्तिदेवी बम विजयी भएकी छन् । उनले एमालेकी तारकेशरी देवी कुँवरलाई ११ मतको झिनो मतान्तरले पराजित गरेकी हुन् । बमले २ हजार ८४२ मत र कुँवरले २ हजार ८३१ मत ल्याएकी छन् । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसकी ईश्वरी जोशीले एमालेकी राजेश्वरीदेवी बमलाई पराजित गरेकी थिइन् ।
त्यस्तै अघिल्लो पटकको निर्वाचनमा जितेको व्याँस पनि कांग्रेसले गुमाएको छ । एमालेका मंगलसिंह धामीले २ हजार ९४९ मत ल्याएर २ हजार ६९३ मत ल्याएका कांग्रेसका दिलीपसिंह बुढाथोकीलाई पराजित गरेका छन् । उपाध्यक्षमा भने माओवादीका विनोदसिंह कुँवरले २ हजार ५९२ मत ल्याएर एमालेकी चन्द्रादेवी कुँवरलाई पराजित गरेका छन् । चन्द्रादेवीले २ हजार ४९७ मत ल्याएकी छन् । अघिल्लो निर्वाचनमा अध्यक्षमा कांग्रेसका बुढाथोकीले नै १ हजार ९१५ मत र उपाध्यक्षमा कुमारी हेमा जोशीले १ हजार ८१९ मत ल्याएर विजयी भएका थिए । उपाध्यक्षमा जोशीसँग पराजित एमालेकी तिरा कुँवरले १ हजार ६५० मत ल्याएकी थिइन् ।
पहिले एमालेले जितेका पालिकामा माओवादी केन्द्र विजयी
दुई दलको तालमेल हुँदा आफ्नो भागमा परेका चारवटै पालिकामा माओवादी केन्द्र भने विजयी भएको छ । अपिहिमाल गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रको तालमेल सफल भएको छ । माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे बोहराले २ हजार ३९२ मत ल्याएर १ हजार ३८५ मत ल्याएका एमालेका धर्मानन्द सिंह मन्याललाई पराजित गरेका छन् । त्यस्तै उपाध्यक्षमा कांग्रेसकी देवकीदेवी बोहरा २ हजार २७ मत ल्याउँदै विजयी भइन् भने उनकी प्रत्यासी एमाले उम्मेदवार उर्मिला बोहरलाले १ हजार ३९१ मत पाइन् । अध्यक्षमा पराजित मन्यालले अघिल्लोपटकको निर्वाचनमा कांग्रेसका लोकेन्द्र सिंह लोथ्याललाई पराजित गरेका थिए । उपाध्यक्षमा यसपटक पराजित बोहराले अघिल्लोपटक कांग्रेसकी देवकीदेवी बोहरालाई पराजित गरेकी थिइन् ।
नौगाडमा एमालेका पूर्व गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीलाई माओवादी केन्द्रका दलजित सिंह धामीले करिब पाँच सय मतान्तरले पारजित गरेका छन् । दलजितले ३ हजार ७८३ मत ल्याएका छन् भने प्रेमसिंहले ३ हजार २७७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने कांग्रेसका जगतसिंह ठगुन्नाले एमालेकी गौरीदेवी ठगुन्नालाई पराजित गरेका छन् । जगतले ३ हजार ९५६ मत पाउँदा गौरीले २ हजार ९५२ मत ल्याइन् । उपाध्यक्षमा विजयी जगतसिंह अघिल्लो निर्वाचनमा एमालेका धामीसँग अध्यक्षमा पराजित भएका थिए । एमालेकी ठगुन्नाले कांग्रेसकी लालमती धामीलाई पराजित गरेकी थिइन् ।
मार्मा गाउँपालिकामा भने माओवादी केन्द्रका जमनसिंह धामी दोहोरिएका छन् । धामीसँग २०७४ सालको निर्वाचनमा पराजित भएका एमालेका देवसिंह महरले पुनः हार व्यहोरेका छन् । यद्यपि, यसपटक एमालेको मत भने बढेको छ । कांग्रेससँग तालमेल गर्दा पनि माओवादी केन्द्रले अघिल्लो पटकको तुलनामा कम मत प्राप्त गरेको छ । अघिल्लोपटक माओवादी एक्लैले २ हजार ३५४ मत प्राप्त गरेको थियो । तर यसपटक २०७४ सालको चुनावमा १ हजार ६१७ मत ल्याएको कांग्रेससँग तालमेल गर्दा पनि माओवादीले ३ हजार ६१६ मत मात्रै प्राप्त गरेको छ । अघिल्लोपटक १ हजार ८९८ मत ल्याएको एमाले एक्लैले यसपटक भने २ हजार ९१४ ल्याएको छ । उपाध्यक्षमा अघिल्लोपटक तेस्रो स्थानमा रहेको कांग्रेस यसपटक माओवादीसँगको तालमेलका कारण जित हात पार्न सफल भएको छ । कांग्रेस उम्मेदवार शर्मिलाकुमारी चन्द सिंहले एमालेकी उम्मेदवार राजु धामीलाई पराजित गरेकी छन् । सिंहले ३ हजार ८८ मत र धामीले २ हजार ७०८ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा माओवादीकी बागमती ठगुन्ना विजयी भएकी थिइन् ।
यस्तै अघिल्लो निर्वाचनमा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको लेकम गाउँपालिका यसपटक माओवादी उम्मेदवार रामदत्त जोशी विजयी भएका छन् । अध्यक्षमा माओवादीका रामदत्त जोशीले एमालेका परमानन्द जोशीलाई ५०० बढी मतले पराजित गरेका छन् । रामदत्तले २ हजार ९७६ मत र परमानन्दले २ हजार ४४५ मत ल्याएका छन् । परमानन्दले अघिल्लो निर्वाचनमा कांग्रेसका उत्तम नाथ र माओवादीका रामदत्त जोशीलाई पराजित गरेका थिए । उपाध्यक्षमा भने माधवी जोशीले पुनः जित हात पारेकी छन् । अघिल्ला निर्वाचनमा कांग्रेसकी जानकी ओझालाई करिब १०० भन्दा बढी मतले पराजित गरेकी जोशीले यसपटक पनि सोही अन्तरमा कांग्रेसकै सुना जोशीलाई पराजित गरेकी छन् ।
दार्चुलाका नौँ स्थानीय तहमध्ये दुई नगरपालिकासहित पाँच स्थानीय तह प्रमुख/अध्यक्षमा नेकपा एमाले र चार गाउँपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्र विजयी भएको छ । तीन स्थानीय तह उपप्रमुख/उपाध्यक्षमा एमाले, चार गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेश र दुई गाउँपालिका उपाध्यक्षमा माओबादी विजयी भएको छ ।
६१ वडा रहेको दार्चुलाका ३४ वडामा एमाले विजयी भएको छ । यस्तै १७ वडामा नेपाली कांग्रेश र १० वडामा नेकपा माओबादी केन्द्र विजयी भएको छ । महाकाली नगरपालिकामा एमाले–६ र कांग्रेस–३, शैल्यशिखर नगरपालिकामा एमाले–८ र काँग्रेस–१, व्यास गाउँपालिकामा एमाले–५ र कांग्रेश–१, नौगाड गाउँपालिकामा एमाले-३, माओबादी-२ र कांग्रेश-१, अपिहिमाल गाउँपालिकामा कांग्रेस–३ र माओवादी–३, मार्मा गाउँपालिकामा एमाले–२, कांग्रेस–१ र माओवादी–३, दुहुँ गाउँपालिकामा एमाले–२, कांग्रेस–२ र माओवादी–१, मालिकार्जुन गाउँपालिकामा एमाले–४, कांग्रेस–३ र माओवादी–१, लेकम गाउँपालिकामा एमाले–४ र कांग्रेस–२ वडामा विजयी भएको छ ।
कांग्रेश र माओबादीका उम्मेदवारहरुलाई जिताउन जिल्लाभरी आमसभा सम्बोधन गरेका मन्त्री बडूको चर्को आलोचना भइरहेको छ । जिल्लाका शिर्ष नेताहरुकै कारण कांग्रेशले भएकै विरासत गुमाउनुपरेको भन्दै कार्यकर्ताहरुले जिम्मेवार नेताहरुको राजीनामा माग समेत गरिरहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया