दार्चुला । लेकम गाउँपालिकाको चालू आर्थिक बर्ष २०७८/०७९ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । लेकम गाउँपालिकाको आयोजना र मालिकार्जुन सामुदायिक संस्थाद्धारा सञ्चालित सामुदायिक रेडियो लोकदर्पण ९४.६ मेगाहर्जको सहजिकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रस्तुत बस्तुस्थिति विवरण अनुसार चालू बर्षमा मात्रै गाउँपालिकाभित्र सात करोड ३५ लाख ३४ हजार २३८ रूपैया खर्च भएको पाइएको छ । लेकम गाउँपालिकामा चालु आर्थिक बर्षमा दुई हजार ९० जनाले सामाजिक सुरक्षा भत्ता पाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त भट्टले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षमा सबै वडासमेतका गरि गाउँपालिकामा ३०७ योजना तथा कार्यक्रम सञ्चालन भएको पाइएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपश्चात पाँच बर्षको अवधिमा ९०० बढी योजना तथा कार्यक्रम सम्पन्न भएको लेकम गाउँपालिकाले जनाएको छ । यस्तै लेकम गाउँपालिकाबाट पाँच बर्षमा सडक निर्माणका लागि ६ करोड ५० लाख बजेट विनियोजन गरेर ५५ किलोमिटर बढी सडक निर्माण गरिएको पाइएको छ ।
गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपध्यक्ष माधवी जोशीको प्रमुख आतिथ्यता रहेको थियो । निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण दत्त भट्ट, विभिन्न शाखाका प्रमुख, बुद्धिजिवि, समाजसेवी र करिब ६० जना लेकमबासीको सहभागिता रहेको उक्त सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण पत्रकार लोकेन्द्र जोशीले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरूले सेवा प्रवाहलाइ अझै जनमैत्री बनाउनुपर्ने, टुक्रे र कार्यकर्तामुखी योजनाहरु बनाउन नहुने, कार्यालयको अभिलेख व्यवस्थापनमा ध्यान दिनुपर्ने, योजना तर्जुमा प्रकियामा सुधार गरेर योजनाहरु आवश्यकताको आधारमा प्राथमिकिकरण गर्दै प्राविधिक मूल्यांकनको आधारमा बजेट विनियोजन गर्नुपर्ने, नमुना पालिका बनाउन सुशासनमा विशेष जोड दिनुपर्ने लगायत विभिन्न सुझाव तथा प्रतिवद्धताहरु व्यक्त गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमका सञ्चालक नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
यसअघि लेकमको वडा नम्बर २, ५ र ६ मा विहिबार र वडा नम्बर १, ३ र ४ मा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठान भएका गुनासा र प्रस्तुत भएका सकारात्मक सुझाबहरुलाई ग्रहण गर्दै लेकमको विकास र लेकमबासी जनताको सेवास्तरलाई अझै व्यवस्थीत बनाउने प्रतिवद्धता सरोकारवालाहरुले व्यक्त गरेका छन् ।
५८ जना लेकमबासी सेवाग्राहीमा गरिएका नागरिक प्रतिवेदन र बर्हिगमन प्रतिवेदन मत सर्बेक्षणको नतिजा अनुसार लेकम गाउँपालिकाको सेवा प्रवाह र नागरिक सन्तुष्टिको अवस्था औषत देखिएकोले अझै कमजोरीका पक्षहरुमा सुधार गरेर अगाडी बढ्ने जनप्रतिनिधि र कर्मचारीहरुबाट प्रतिवद्धता व्यक्त गरिएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया