नरेन्द्र कार्की, दार्चुला। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष एवं बैतडीबाट प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले दार्चुलामा निर्माण गरिएको तडबन्धनको निरीक्षण गर्नुभएको छ । महाकाली नदीको कटान जोगाउन निर्माण गरिएको तडबन्धको अवस्थाबारे निरीक्षण गर्नुभएको हो ।
भारतले पछिल्लो समय नेपाललाई क्षति हुने गरि निर्माण गरिएको तडबन्धको बारे सांसद भण्डारीले चासो राख्नुभयो । महाकाली नदीको प्राकृतिक धार परिवर्तन हुने गरि अहिले भारतले तडबन्ध निर्माण गरिरहेको छ ।
पहिले निर्माण गरिएको तडबन्ध भन्दा १० मिटर नदीभित्र छिरेर तडबन्ध भारतले निर्माण गर्दैछ । तडबन्ध निर्माणको नेपाली पक्षले पटक पटक विरोध गरे पनि भारतले तडबन्ध निर्माण कार्य रोकेन् । नेपाल भारत सुरक्षा अधिकारीबीच दार्चुलामा भएको समन्वय बैठकमा तडबन्ध निर्माणको दुवै पक्षले बेला बेलामा अनुगमन गर्ने बताएपनि त्यो अहिले सम्म हुन सकेको छैन् ।
सांसद भण्डारीले भन्नुभयो, ‘यो भारतले निर्माण गरिरहेको तडबन्ध अतिक्रम नै हो । बर्खायाममा यसरी धार परिवर्तन गराएर तबडन्ध निर्माण गर्नुहुँदैन् ।’
यसैबीच सांसद भण्डारीले भारतीय सौका (रङ) समाजले निर्माण गरिएको संग्राहलयको अवलोकन गर्नुभएको छ । परम्परागत पहिरन तथा उनीहरुको समाजको पहिचान देखिने गरी संग्राहलय निर्माण गरिएको छ ।
सो अवसरमा भण्डारीले दुवै देशको मित्रता कायम गर्न संग्राहलयले पनि महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । ‘यो मित्रता यथावत राख्नुपर्छ । दुवै छिमेकीको सम्बन्ध प्रगाढ बनाउन यहाँको भूमिका महत्वपूर्ण छ’ उहाँले भन्नुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया