दार्चुला । भदौ १ गते ओल्के संक्रान्तिका दिन गाउ नजिकैका उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइएको छ । यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हाले भन्ने गरिएको छ । भाद्र संक्रान्तिका दिन हालेको बुढीलाई असोज संक्रान्तिका दिन साँझको समयमा पोल्ने चलन रही आएको छ । असोजको संक्रान्तिलाई बुढी पोल्ने संक्रान्ति भन्ने गरिएको छ । यो दिन प्रत्येक घरबाट आगोको राँको लगेर सामूहिक रुपमा बुढी पोल्ने गरिन्छ । आजको दिन दार्चुलासहित सुदूरपहाडमा बुढी हालेर बुढी हाल्ने पर्व मनाइएको स्थानीयले बताएका छन् ।
दार्चुलासहित सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व पनि मनाइँदै छ । पहाडी समुदायका मानिसहरुले हरेक बर्षको भाद्र संक्रान्तिलाई ओल्के पर्वका रुपमा मनाउने गरेका छन् । ओल्के पर्वलाई जेठो पर्वका रुपमा मनाउने गरिएको स्थानीय संस्कृतिका जानकारहरु बताउछन् । ओल्के पर्वपछि अन्य चाडपर्व शुरु हुने भएकाले यसलाई जेठो पर्वका रुपमा मनाउने गरिएको छ ।
ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु यस पर्वको विशेषता रही आएको छ । यस्तै आफन्त, इष्टमित्रहरुलाई उपहार स्वरुप भेटघाट गर्ने चलन समेत रही आएको छ । तर पछिल्लो समयमा भेटघाट गर्ने चलनमा भने कमी आएको छ । यसका साथै बिहानै नुवाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ ।
वर्षा पछिको संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रही आएको स्थानीय संस्कृतिका जानकार पण्डित देवदत्त भट्टले बताउनुभयो । यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पकवान आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रही आएको छ । धेरै जसो ठाउँंमा मन्दिरमा अन्न चढाई ओल्को हाल्ने चलन रही आएको छ । कतिपय ठाउँमा आजका दिनलाई ‘गब्या त्यार’भन्ने चलन रही आएको छ । आजैका दिनदेखि पिँडालुको गाबाको तरकारी खाने चलन रही आएको छ । पौष्टिकता हिसाबले गाबा निकै महत्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया