दार्चुला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबीच भोलि (बुधबार) सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ । प्रेस सेन्टर, नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले शीर्ष नेताहरू बसेर भोलि सिट बाँडफाँटलाई अन्तिम टुङ्गोमा लगाउने बताउनुभयो । प्रचण्ड आज माओबादीको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमका लागि धनगढी आइपुग्नुभएको थियो ।
‘सिट सङ्ख्या क्षेत्र र प्रदेशमा एकैचोटी टुङ्ग्याउने भनेर लागिपरेका छौँ’, उहाँले भन्नुभयो, नेपाली कांग्रेसले प्रतिनिधिसभामा १०० सिट मागे पनि ८० को वरिपरिमा सकारात्मक छ । त्यस्तै, माओवादी केन्द्रले ६० सिटको दाबी गरेअनुसार वरिपरिमै सिट मिल्ने आफूले विश्वास गरेको उहाँले बताउनुभयो ।
यसैगरी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले २५/२५ वटा सिट दाबी गरे पनि सबैलाई मिलाइने उहाँको भनाइ छ । सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने उहाँले बताउनुभयो ।
आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नम्बर ३ बाटै उठ्ने उहाँको प्रष्टोक्ति थियो । पाँच वर्षको अवधिमा कुनै पनि सरकारले स्थिरता दिन नसकेको प्रचण्डले बताए। निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलुकलाई नयाँ गतिमा अघि बढाउने उहाँको दाबी छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया