दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ६ जना बेपत्ता, दर्जनौँ घर बगे, हेलिउद्धारको प्रयास

दार्चुला । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया जानकी ठगुन्ना (किम्ती) को मृत्यु भएको लोकदर्पण समाचारदाता श्याम धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ। मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको छ । शुक्रबार राति एकबजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ। यस्तै नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन्। पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हाटखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ। नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ। महाकाली नगरपालिकाको डुङ्गरीमा एकै परिवारका धन सिंह कार्की, मानमती कार्की, दिपक कार्की र दिनेश कार्की बेपत्ता रहेका छन् ।

यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्। अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । हालसम्म ६ जना बेपत्ता भएको उहाँले बताउनुभयो ।

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। महाकाली र नौगाड गाउँपालिकाका गरी दर्जनौँ घरहरु बगेको स्थानीयले बताएका छन् ।

डुङुरीमा लास्कु खोलामा आएको बाढिले एकै घरका चार जना वेपत्ता भएको जिल्ला पहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख मगरले बताउनुभयो । खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढिले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएको छ । दार्चुला टिंकर सडकमा पार्किङमा राखिएका चार वटा जिपहरु महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्‍याएको छ । बाढिले घर भत्काउने क्रम जारी रहेको हुँदा उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अनुरोध गर्नुभयो । नदी तटिय क्षेत्रका नागरिक बाढीको त्रासले रातीदेखिनै घरबाहिर रहेका छन् । दार्चुलामा बर्षेनी बाढी, पहिरोजन्य विपद्ले ठूलो क्षती पुर्याउदै आएको छ ।

घाइतेहरुको उद्धार हेलिकोप्टरमार्फत गर्न प्रयास भइरहेको नेताहरुले बताएको छ । उद्धारका लागि पहल भइरहेको संघ, प्रदेश र स्थानीयस्तरका नेताहरुले प्रतिक्रिया दिएका छन् । स्थानीयहरु समेत उद्धारकार्यमा खटिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?