दार्चुला । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलाको नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिला, एक पुरुष र एक नाबालिका गरी तीन जनाको मृत्यु भएको हो । नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया जानकी ठगुन्ना (किम्ती), नौगाड गाउँपालिका–२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की र नौगाड १ का पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको मृत्यु भएको छ । मृतकको शव पुरिएको अवस्थामा फेला परेको छ ।
नौगाड गाउँपालिका वडा नम्बर १ नागुमा चट्याङ लागेर दुई सय भेडाबाख्रा मरेका छन् । पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हाटखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ । नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डुमुण्डुमा दुई वटा आरसीसी पुल र दुई घट्ट तथा वडा नम्बर ४ होपरीमा दुई वटा झोलुंगे पुल बाढीले बगाएको छ । नौगाडमा पहिरोमा परि केही मानिस घाइते भएका छन । घाइतेको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । महाकाली नगरपालिकाको डुङ्गरीमा एकै परिवारका धन सिंह कार्की, मानमती कार्की, दिपक कार्की र दिनेश कार्की बेपत्ता रहेका छन् । खोजि कार्य भइरहेको स्थानीय उदय बोहराले बताउनुभयो ।
यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पु¥याएको छ । महाकाली नगरपालिका क्षेत्रमा करिब डेढ दर्जन घरहरू बगेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । बाढी पहिरोमा परी ६ जना बेपत्ता भएको उहाँले बताउनुभयो । उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
महाकाली र नौगाड गाउँपालिकाका गरी दर्जनौँ घरहरु बगेको स्थानीयले बताएका छन् । खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढिले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला टिंकर सडक अवरुद्ध भएको छ । दार्चुला टिंकर सडकमा पार्किङ गरी राखिएका चार वटा जिपहरु महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पु¥याएको छ । नदी तटिय क्षेत्रका नागरिक बाढीको त्रासले रातीदेखिनै घरबाहिर रहेका छन् । दार्चुलामा बर्षेनी बाढी, पहिरोजन्य विपद्ले ठूलो क्षती पुर्याउदै आएको छ ।
घाइतेहरुको उद्धार हेलिकोप्टरमार्फत गर्न प्रयास भइरहेको छ । तत्काल हेलिकोप्टरमार्फत प्रारम्भिक राहत सामग्री पठाउने र नौगाडका घाइते हरूको उद्धार गर्ने गरी सुर्खेतबाट हेलिकोप्टर पठाउने तयारी भइरहेको बताइएको छ । दार्चुला घर भएका उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री बालकृष्ण खाणलाई भेटर उद्धार कार्यका लागि अनुरोध गर्नुभएको छ । उद्धारका लागि पहल भइरहेको संघ, प्रदेश र स्थानीयस्तरका नेताहरुले प्रतिक्रिया दिएका छन् । स्थानीयहरु समेत उद्धारकार्यमा खटिएका छन् । नदी, खोलाहरुले अहिलेपनि खटान गरिरहेका छन् । दार्चुलामा बाढी, पहिरोले बितण्डा मच्चाएपछि ठूलो जनधनको क्षती भएको छ ।







विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया