दार्चुला । महाकाली र लास्कु खोलामा आएको बाढीपछि महाकाली नदी थुनिएको छ । लास्कुखोलादेखि नदी थुनिएर कलौनसम्म बाँध बनेको छ । थुनिएको नदी खुलाउन तथा जोखिममा रहेका स्थानीयको तत्काल उद्धार गर्न माग भइरहेको छ । नदी थुनिएपछि दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलंगा आउने–जाने बाटो समेत बन्द भएको स्थानीय समाजसेवी हरदेब जोशीले बताउनुभयो । बाढी पहिरोकै कारण दुहुँ र नौगाड क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

दार्चुलामा शुक्रबार रातीको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु भइसकेको छ । १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ । सयौँ मानिस बाढी पहिरोबाट प्रभावित भएका छन् । गम्भीर घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । उनिहरुको अवस्था हेरेर जटिल समस्या भएकाहरुलाई रेफर गर्ने तयारी छ ।

नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत पहिरोमा परी गम्भीर घाइते भएका पाँच जनाको उद्दार गरिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, वर्ष ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी दार्चुला सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।

गम्भीर घाइते उनिहरुको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ, प्रहरी निरीक्षक मगरले भन्नुभयो, घइते मध्ये बिरेन्द्र ठगुन्नाको अवस्था बढी चिन्ताजनक छ । सल्ला गाउँमा घर माथीबाट पहिरो खस्दा उनिहरु घाइते भएको बताइएको छ । बाढी पहिरोमा परी मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, १४ वर्षीया धनमती ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेखका मोहनराम पार्की, महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली नगरपालिका–१ का ४५ वर्षीया मानमती कार्की रहेको प्रहरी निरीक्षक मगरले बताउनुभयो । बाढी र पहिरोमा परी वेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीय महामरी ठगुन्ना, नौगाड–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु रहेका छन् ।

बाढी पहिरोले तीन दर्जन बढी घरमा क्षती पुर्याएको छ भने केही घर नदिमै बगेका छन् । महाकाली नगरपालिकाभित्र दुई वटा विद्यालय भवन र विभिन्न स्थानमा गरी दर्जनबढी सवारी साधन समेत बाढीले बगाएको छ । बेपत्ता र घाइतेको उद्धार र खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीबाट राहत सामाग्री समेत ल्याउने तयारी भइरहेको छ ।

सम्बन्धित समाचारः दार्चुलामा बाढीपहिरोको बितण्डा, गम्भीर घाइते ५ जनाको सेनाको हेलिकप्टरद्धारा उद्दार, अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु, १० बेपत्ता!

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?