दार्चुला । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलाका ३९ विद्यालय छनोटमा परेका छन् । बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको हो ।
छनोटमा परेका विद्यालयहरुमा भवन र कम्प्युटर ल्याब स्थापना गरिनेछन् । दार्चुलामा परेका ३९ विद्यालयमध्ये १८ वटा विद्यालयमा कम्प्युटर ल्याव र बाँकी २१ विद्यालयमा भवन निर्माण गरिने छन् । १२ विद्यालयमा ४ कोठे विद्यालय भवन र ९ विद्यालयमा दुई कोठे विद्यालय भवन परेका छन् । कम्प्युटर ल्याबका लागि एउटा विद्यालयलाई ६ लाख ५० हजार, चार कोठे भवनका लागि ५० लाख र दुई कोठे भवन निर्माणका लागि २५ लाख रुपियाँ रकम छुट्याइएको छ ।
महाकाली नगरपालिकाबाट सबैभन्दा बढी ७ वटा विद्यालय, नौगाड र मार्मा गाउँपालिकामा पाँच/पाँच विद्यालय, लेकम, शैल्यशिखर, मालिकार्जुन, दुहुँ, अपिहिमालमा चार/चार र व्यासका दुई विद्यालय छानिएका छन् ।
छनोट हुने विद्यालयहरुमा महाकाली नगरपालिकाबाट गडिभवन माबि थाप्लामा दुई कोठे भवन, मालिकार्जुन माबि निशिलमा चार कोठे भवन, भुवनेश्वरी आबि पण्डोरामा चार कोठे भवन, छापरी आबि छापरी र दुर्गालटिनाथ आबि मैखोलीमा आइसीटी, सरस्वति आबि घट्टेखोलामा चार कोठे भवन र दशरथनगर आबि खलंगामा चार कोठे भवन परेको छ ।
नौगाड गाउँपालिकाको लटिनाथ माबि खारमा चार कोठे भवन, भूमिराज माबि एयरकोटमा दुई कोठे भवन, गणेश विनायक माबि सिप्टी, केदारेश्वरी माबि सुण्डुमुण्डु र मालिकार्जुन मावि एगरभगेमा आइसीटी कार्यक्रम परेको छ ।
मालिकार्जुन गाउँपालिकाको मालिकार्जुन माबि मडमा चार कोठे भवन, शंकरपुर माबि पस्तीमा दुई कोठे भवन, लटिनाथ आबि बसेडी र खान माबि ऐरीछानामा आइसीटी कार्यक्रम परेको छ । शैल्यशिखर नगरपालिकाको मालिकार्जुन आबि थलामा दुई कोठे भवन, पशुपती भवन माबि ग्वानीमा चार कोठे भवन, सरस्वती आबि थामु र लटिनाथ आबि खोल्सीमा आइसीटी कार्यक्रम परेको छ ।
व्यास गाउँपालिकाको चन्द आबि मडगाउँमा दुई कोठे विद्यालय भवन, ब्रह्मास्थान आबि डोकटमा चार कोठे भवन परेको छ । दुहुँ गाउँपालिकाको गणेश माबि सिमलीमा चार कोठे भवन, हुनैनाथ आवि बस्पालीमा दुई कोठे भवन, लटिनाथ आबि बोहोरीगाउँ र मष्टकेदार आबि गोकुलमा आइसीटी कार्यक्रम परेको छ ।
लेकम गाउँपालिकाको हुनैनाथ माबि सिरोडामा दुई कोठे भवन, हुनैनाथ माबि रातामाटामा चार कोठे भवन, बडिपुर माबि सर्मोली र बालिचन्द आबि तिउनेगाउँमा आइसीटी कार्यक्रम परेको छ । अपिहिमाल गाउँपालिकामा खण्डेश्वरी माबि क्षत्तिमा चार कोठे भवन, हिमालय आबि पाथामा दुई कोठे भवन, सुर्माभवानी आबि थुम्ती र छिपुलकेदार माबि धंकमा आइसीटी कार्यक्रम परेको छ । मार्मा गाउँपालिकाको लटिनाथ आबि जुडेमा चार कोठे विद्यालय भवन, हंशबाहिनी आबि ओडिखेतमा दुई कोठे भवन, भवानी आबि तोलिमाण्डौँ, युवा बर्ष आबि सार्सी र भूमिराज आबि गोल्फामा आइसीटी कार्यक्रम परेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलाका ३९ सहित देशभरीका ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरेको जनाएको छ । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो ।
कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्ष ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो । असोजमा बजेट वितरण गरिने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




