दार्चुला । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एबं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना नेतृत्वमा एमाले नेताहरुको टोलीले नौगाड गाउँपालिका र महाकाली नगरपालिकाका बाढीपहिरो पीडितहरुसंग भेटघाट गरेको छ । स्थलगत अवलोकन र पीडित भेटघाटका क्रममा नौगाड गाउँपालिका वडा नम्बर १ सल्ला र वडा नम्बर २ सुण्डुमुण्डु लगायत गाउँका पहिरो पीडित परिवारलाई भेटेर एमाले दार्चुलाले राहत वितरण समेत गरेको छ । नेता ठगुन्नाको नेतृत्वमा नौगाड गाउँपालिका पुगेको एमाले नेताहरुको टोलीले पीडित परिवारहरुसंग भेटघाट गरेर सान्त्वना स्वरुप राहत वितरण गरेको एमाले नौगाड गाउँकमिटी अध्यक्ष जनक ठगुन्नाले जानकारी दिनुभयो ।
नौगाडमा गत शुक्रबार राती आएको पहिरोमा परि दुई जनाले ज्यान गुमाएका थिए भने धेरै घरवारविहिन भएका छन् । पहिरोमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुलाई ३०/३० हजार, घरमा पूर्ण क्षति भएका परिवारलाई १०/१० हजार र आशिंक क्षति भएका परिवारलाई ५ हजारका दरले नौगाडमा एमालेले राहत वितरण गरिएको उहाँले बताउनुभयो । पीडित परिवारसंग भेटघाटका लागि नेता ठगुन्नासंगै एमाले प्रदेश कमिटी सदस्यहरु रामदत्त जोशी, कृष्णसिंह धामी, उमेश खत्री, जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी, सचिव शेरसिंह धामी, उपसचिव खडक बडाल लगायत नेताहरु र स्थानीय कार्यकर्ता पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए । एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामी भने नियमित स्वास्थ्य उपचारको क्रममा काठमाण्डौँ गएको बताइएको छ ।
नौगाडमा बुधबार र विहिबार पीडितसंग भेटघाट, स्थलगत अवलोकनसंगै राहत वितरण गरेको एमाले नेताहरुको टोली विहिबार दिउँसोपछि लास्कुखोलाको बाढी प्रभावित क्षेत्रमा पुगेको थियो । घट्टेखोला, मुल्ला, मैखोली, काटै, लास्कु, बंगाबगर लगायत क्षेत्रमा समेत बाढीपीडितलाई भेटेर सान्त्वना प्रदान गर्नुका साथै शुक्रबार महाकाली नगरपालिकाको तर्फबाट राहत वितरण गरिने जानकारी समेत दिइएको छ । यसअघि एमालेले खलंगामा बाढी नियन्त्रणका लागि श्रम शिविरको आयोजना गरेको थियो भने महाकाली नगरपालिकाका बाढीपीडितलाई नगरपालिकाको तर्फबाट भोलि भदौ ३१ गते राहत वितरण गर्ने कार्यक्रम रहेको सासंद ठगुन्नाका स्वकिय सचिव दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो । नौगाड र महाकालीमा २४ गते रातीको पहिरोमा परि ५ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता भएका थिए । बेपत्ताहरुको समेत जीवित भेटिने सम्भावना नरहेकोले एकैदिन दार्चुलामा १५ जनाको ज्यान गएको थियो ।
महाकाली नगरपालिकाले मृतकको परिवारलाई प्रति मृतक एक लाखका दरले नगरपालिकाको तर्फबाट राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । सरकारले बेपत्तालाई मृतक घोषणा गरेलगत्तै उनिहरुको परिवारलाई समेत राहत उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । यस्तै पूर्ण रुपमा घर क्षति भएको परिवारलाई प्रति परिवार ५० हजार रुपैया र जोखिममा रहेका घरपरिवारलाई तत्काल १५ हजार राहत रकम उपलब्ध गराइने नगरप्रमुख नरसिंह चैसीरले बताउनुभयो ।
बाढी प्रभावितलाई छिटो भन्दा छिटो राहत वितरण गर्न सासंद ठगुन्नाले सुझाब दिनुभएको छ । विहिबार लास्कुखोलाका बाढीपीडितसंग कुराकानी गर्ने क्रममा सासंद ठगुन्नाले भन्नुभयो, राहत भन्ने कुरा घटना भएको दुई तीन दिनमै दिइसक्नुपर्छ, धेरै ढिला गर्नुहुन्न भोलि नै नगरपालिकाको तर्फबाट राहत वितरण गरिन्छ ।
यसअघि प्रदेश सरकारको तर्फबाट मृतकको परिवारलाई एक लाख राहत उपलब्ध गराउने घोषणा गरिएको छ भने संघीय सरकारबाट समेत प्रति मृतकको परिवारलाई प्रशासन कार्यालयमार्फत दुई लाख राहत उपलब्ध गराउने कार्यविधि रहेको छ । एकै घरका एकभन्दा बढीको ज्यान गएमा प्रति मृतक थप एक लाखका दरले राहत उपलब्ध गराउने संघीय सरकारको कार्यविधि छ । विभिन्न संघ संगठन र नागरिकहरुले समेत बाढीपहिरो पीडितलाई राहत संकलन गरेर वितरण गरिरहेका छन् ।
दार्चुलाका बाढीपहिरो पीडितलाई राहत वितरणमा सरकारी पक्षबाट ढिलाइ भइरहेको छ ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया