दार्चुला । दार्चुलामा आत्महत्या गर्नेको संख्यामा कमि आउन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ मा २१/२१ जनाले आत्महत्या गरेकोमा गतवर्ष २०७८/०८९ मा २६ जनाले आत्महत्या गरेको पाइएको छ । चालु आर्थिक वर्षको दुई महिनामा थप दुई जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।
आइतबार (आज) मात्रै जिल्ला प्रहरी कार्यालय दार्चुलाले आत्महत्या रोकथाम सम्बन्धी देशब्यापी सचेतना कार्यक्रमको अवधारणा, २०७९ अनुसार दार्चुला सदरमुकाम खलंगामा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा स्थित खुल्ला मञ्चबाट पुलघाटसम्म र्यालीको आयोजना गरी नगरपालिकाको सभाहलमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको प्रहरी निरीक्षक मगरले बताउनुभयो । महाकाली नगरपालिकाका नगर प्रमुख नर सिंह चैसिरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको विशिष्ट आतिथ्यता रहेको थियो । नेपाल प्रहरीसंगै नेपाली सेना, सशस्त्र प्रहरी बल, सरकारी, गैह्र सरकारी कार्यालयका कार्यालय प्रमुखहरूका साथै आमन्त्रित शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजिवी, महिला सञ्जाल, पत्रकार, मानव अधिकारकर्मी लगायत करिब चार सय जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो ।
तपाईको जीवन अमुल्य छ आफुलाई माया गरौं, जीवनलाई आत्मसाथ गरौँ, आत्महत्या बन्द गरौं, जीवन सुन्दर छ, यसलाई मौका दिनुहोस भन्ने सचेतनामुलक प्ले कार्ड सहित र्याली निकाली खलंगा बजार परिक्रमा गरी महाकाली नगरपालिकाको सभाहलमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीको तथ्याङ्कले नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या वर्षेनी बढ्दै गएको देखाउँछ। आफूले आफैलाई मार्ने वा समाप्त पार्ने उदेश्यले गरिने कार्यलाई आत्महत्या भनिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार कम आए भएका वा मध्यम आए भएका मुलुकहरूमा आत्महत्याको समस्या जटिल छ। आत्महत्याका विभिन्न प्रकृतिमध्ये डोरी लगाएर झुण्डिएर आत्महत्या गर्नेहरूको संख्या उच्च छ। मनोविश्लेषक वासु आचार्यका अनुसार आत्महत्या गर्नु वा गर्न खोज्नु एक किसिमको मानसिक रोग हो। परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवार अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषकहरू बताउँछन्।
आत्महत्या रोकथाम वा व्यवस्थापनका लागि आफ्ना नानीबाबुहरुलाई छरछिमेक, आफ्न्त नातागोताका व्याक्तिहरुका नानीबाबुहरुसँग तुलना गर्ने परिपाटीलाई अन्त्य गर्न सके केहीहदसम्म भएपनि आत्महत्याको जोखिमलाई कम गर्न सकिन्छ। जग बलियो भएमात्र घर बलियो बनाउन सकिन्छ भन्ने उक्तिलाई चरितार्थक पार्ने हो भने बालबालिकाहरुलाई शैद्धान्तिक शिक्षा सगंसगै व्यवहारिक शिक्षामा जोड दिन सकेपनि आत्महत्याको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ। कलिला बालबालिका तथा किशोरकिशोरिहरुको मानसिकतामा नकारात्मक असर पर्ने व्यवहार जस्तै दवाव, धम्की, यातनालाई न्यूनीकरण वा समाप्त गर्न जरुरी देखिन्छ। सही अनुशासन र व्यवहार सिकाउन सकेमात्र हाम्रा कलिला नानीबाबुहरुले समस्यासगं सामना गर्ने सिप सिक्न सक्दछन् न कि समस्यादेखि भाग्ने। साथै पारिवारिक तनाव कम गर्ने, आत्महत्या गर्ने मानसिकता बनाएकाहरुलाई जनचेतनामुलक प्रशिक्षण, काउन्सिल दिने वा उपचार गर्ने र उनिहरुलाई साहास र हौसला दिन सके आत्महत्या रोकथाम हुनसक्ने मनोवैज्ञानिकहरु बताउछन् ।




विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया