दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ को मरफुल र कोर्थि बस्तीको बिचमा पर्ने कटेलिगाडमा पानी थुनिएको छ । कटेलिगाडको मुहान खुम्फुलमा वर्षाका कारण पहिरो गइ कटेलिगाडको पानी थुनिएर बाँध बनेको छ । खुम्फुल देखि घुइस्याडीसम्म पानी जम्मा भइ ताल बाँधिएकोले जुनसुकै बेला पनि ताल फुट्न सक्ने हुँदा पूर्व सतर्कता अपनाउन स्थानीयलाई अनुरोध गरिएको छ ।
अपिहिमालको वडा नम्बर ३ का बस्तीहरु मरफुल, कटेलिगाड बजार, बिसौँना चौर, खौला, राताभिटा, थुम्ति, सम्भाड, र्खिसा, झुस्कु, चौँड, बिडि, भट्टाड र छबिस बस्तिले सतर्कता अपनाउन हुन अनुरोध गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण सिंह धामीले जानकारी दिनुभयो । उक्त बाँध फुटेमा अपिहिमाल, मार्मा, डिलाशैनी र शैल्यशिखरको चमेलिया नदी तटिय क्षेत्रमा समेत बाढीको जोखिम हुने भएकोले सतर्कता अपनाउनु आवश्यक रहेको छ ।
पछिल्लो समय दार्चुलामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । भदौ २४ गते रातीको बाढीका कारण ६ जनाको मृत्यु हुनुका साथै ९ जना अझै बेपत्ता रहेका छन् । हाल मनसुन सक्रिय रहि बर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया