दार्चुला । दार्चुलाको दोस्रो जिल्ला सभा २०७९ खलंगामा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजना तथा सभाका सदस्यहरु तथा स्थानीय तह प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष लगायतको सहभागितामा शनिबार (आज) जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला सभा सम्पन्न भएको हो ।
सभाले अहिलेसम्म भएका निर्णयहरु अनुमोदन गर्नुका साथै दार्चुलाका बाढीपहिरो पीडितका लागि प्रदेश र केन्द्र सरकारबाट राहत माग गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति प्रमुख एबं गाउँसभा अध्यक्ष महादेब बडू कश्यपले जानकारी दिनुभयो । जिल्लासभामा जिल्ला सभा सदस्यहरु जमनसिंह धामी, रामदत्त जोशी, दलजितसिंह धामी, हिरासिंह धामी लगायतले आफ्नो धारणाहरु राख्नुभएको थियो । दार्चुला तिकंर सडकलाई तिब्रताका साथ निर्माण गरिनुपर्ने, बाढी पहिरो न्यूनिकरणमा काम गर्नुपर्ने, पुर्वाधार र सामाजिक विकासमा ध्यान दिनुपर्ने लगायत विषयमा गहन छलफल भएको जनप्रतिनिधिहरुले बताएका छन् ।
यसैबिच दार्चुलामा प्रदेश सरकार अन्तरगतका कार्यालय तथा स्थानीय तहको वार्षीक समिक्षा गरिएको छ । शुक्रबार जिल्ला समन्वय समिति दार्चुलाले आयोजना गरेको कार्यक्रममा जिल्लास्थित प्रदेश कार्यालयका प्रमुख र स्थानीय तहका जनप्रतिनिधहरुको उपस्थितिमा समिक्षा कार्यक्रम सम्पन्न भएको जिल्ला समन्वय अधिकारी नरबहादुर ठगुन्नाले बताउनुभयो ।
गत आर्थिक वर्ष २०७८÷०७९ को वार्षीक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेब बडूको अध्यक्षता तथा नौँ वटै स्थानीय तहका जनप्रतिनिधिहरुको सभागिता रहेको थियो । समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति सहित जिल्लाका नौँ वटै स्थानीय तहले कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए । पालिकाहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सिँचाई लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




