दार्चुला । मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कसले उम्मेदवारी पाउछ र कसले जित्छ भन्ने विषय अहिलेको समयमा सर्वाधिक चासोको विषय बनेको छ । प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको दार्चुलामा पाँच दलिय गठबन्धन र नेकपा एमालेका बिचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेबाट पूर्वमन्त्री समेत रहनुभएका एमाले पोलिटब्युरो सदस्य एबं सुदूरपश्चिम प्रदेश सहइन्चार्ज गणेशसिंह ठगुन्नाको उम्मेदवारी प्रतिनिधिसभाका लागि यसअघि नै टुगों लागिसकेको छ । गठबन्धनबाट औपचारिक निर्णय बाहिरिन बाँकी भएपनि कांग्रेश केन्द्रीय सदस्य एबं उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उम्मेदवारी पाउने निश्चित जस्तै रहेको स्रोतको दाबी छ । नेता बडूलाई प्रतिनिधिसभा सदस्यको टिकट दिनका लागि गठबन्धनमा कांग्रेशका तर्फबाट प्रतिनिधिसभाका प्रमुख दाबेदार तथा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बन्नुभएका नेता बिक्रमसिंह धामीलाई प्रदेशसभा सदस्यको टिकट दिएर नेता बडूको बाटो खुलाउने प्रयास भएको स्रोतको दाबी छ । यद्धपी केही दिन पहिले नेता बिक्रम धामीले आफुले प्रदेशसभा क क्षेत्रबाट निर्वाचन लड्ने हल्लामा कुनै सत्यता नभएको र आफ्नो दाबी प्रतिनिधिसभाकै लागि रहेको अभिव्यक्ति दिनुभएको थियो ।
गठबन्धन स्रोतबाट प्राप्त जानकारी अनुसार प्रतिनिधिसभामा मन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभा क्षेत्र क मा कांग्रेश महाधिवेसन प्रतिनिधि बिक्रमसिंह धामी र प्रदेशसभा क्षेत्र ख मा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले टिकट पाउने निश्चित भएको छ । प्रदेशका मन्त्री धामी यसअघि २०७४ सालको निर्वाचनमा समेत प्रदेश सभा क्षेत्र ख बाटै निर्वाचित हुनुभएको थियो । गत निर्वाचनमा एमालेको सहयोगमा निर्वाचित धामीसंग एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य एबं पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीको यसपटक प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट नेता जोशी यसअघि नै प्रदेशसभा सदस्य पदका लागि एकल उम्मेदवार सिफारिस भइसक्नुभएको छ । शैल्यशिखरका जोशी र नौगाडका धामीबिच प्रदेशसभा क्षेत्र ख का लागि मुख्य प्रतिस्पर्धा हुने नेताहरुले बताएका छन् । प्रदेशसभा क्षेत्र क का लागि भने नेकपा एमालेले उम्मेदवारको टुगों लगाउन बाँकी रहेको बताइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभामा आफुले जित्ने दाबी सबैको सुनिन्छ । निर्वाचनको मुखमा दल र उम्मेदवारहरुले आफ्नो पक्षमा मत माग्नु र जितको दाबी गर्नु स्वभाविक पनि हो । नेता बडू विगतदेखि केन्द्रीय राजनीतिमा धेरै हदसम्म स्थापित भएपनि जिल्लाको विकासमा ठूलो योगदान पुर्याउन नसकेको भन्दै जनताको प्रतक्ष मतबाट गणतन्त्र स्थापनापछि निर्वाचित हुनसक्नुभएको छैन् । पछिल्लो समय केन्द्रीय राजनीतिमा स्थापित हुदै गरेका नेता ठगुन्नाले जिल्लाको विकासमा योगदान पुर्याउदै आएको, जीवनशैनी सामान्य र जनतासंगको सम्बन्ध राम्रो भएको भन्दै लगातार दुई पटक प्रतक्ष मतबाट निर्वाचित हुने अवसर पाएर तेस्रो पटक मैदानमा उत्रिनुभएको बहुमत देखिन्छ । पछिल्लो समय प्रतक्ष निर्वाचित नभएपनि नेता बडू २०४८ सालदेखि अधिकासं समय सत्तामा रहदै आउनुभएको छ । २०४८ र २०५६ मा बडूले दार्चुलाबाट प्रत्यक्ष निर्वाचन जित्नुभएको थियो भने २०५१ सालमा नेकपा एमालेका प्रेमसिंह धामी, २०६४ सालमा माओबादी केन्द्रका लक्ष्मणदत्त जोशी र २०७० सालमा एमालेका गणेशसिंह ठगुन्नासंग पराजित भएपछि २०७४ सालमा प्रतक्षबाट संसदको यात्रा सुरक्षित नदेखेपछि प्रतक्षमा बिक्रम धामीलाई छोडेर समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।
नेता बडू र ठगुन्ना २०६४ सालको संविधानसभा निर्वाचन देखि प्रतिस्पर्धामा हुनुहुन्छ । २०६४ सालको निर्वाचनमा बडू र ठगुन्ना दुवै नेता पराजित हुदा नेकपा माओवादीका लक्ष्मणदत्त जोशी सभासद बन्नुभएको थियो । त्यसपछि २०७० सालमा ठगुन्नाले संसदको यात्रा तय गर्दै बडूलाई पराजित गर्नुभएको थियो । २०७४ सालमा पनि कांग्रेशकै बिक्रम धामीलाई पराजित गरेर एमाले नेता ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि २०६४ र २०७० मा गरी दुई पटक निर्वाचन लडेका बडू र ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । यसपटक ठगुन्नाले चुनाव जिते उहाँको लगातार तीन पटक सासंद बनेर ‘ह्याट्रिक’ हुनेछ, बडूले चुनाव जिते पनि तेस्रोपटक दार्चुलाबाट प्रत्यक्ष निर्वाचित बनेर संसदको यात्रा जारी रहनेछ ।
विगतदेखि वर्तमानसम्म राजनीतिक दलहरुले पाएको मतलाई विश्लेषण गर्ने हो भने दुबै नेताबिच तिब्र प्रतिस्पर्धा हुनेछ । यद्धपी सासंद ठगुन्नाको लगातारको विजय अर्थात दार्चुलेली जनताको मनोविज्ञान र गठबन्धनविरुद्ध गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले पाएको मतलाई आधार मान्ने हो भने अझैपनि नेता बडूलाई भन्दा ठगुन्नालाई निर्वाचन जित्न सहज देखिन्छ । २०७४ सालमा २८ हजार ९९८ मत सहित एमाले नेता ठगुन्ना विजयी हुदा उहाँका निकतम प्रतिस्पर्धी कांग्रेशका बिक्रम धामीले २२ हजार २३३ मत अर्थात छ हजार ७६५ मत कम प्राप्त गर्नुभएको थियो । २०७४ मा एमालेलाई माओबादीको समेत समर्थन भएकोले माओबादीले प्राप्त गरेको जनमतलाई आकलन गर्दा कडा प्रतिस्पर्धा भएको देखिन्छ । माओबादीले अहिले कांग्रेशलाई समर्थन गरेकोले नेता बडूलाई सहज हुने दाबी समेत स्वभाविक देखिन्छ । तर एमाले नेताहरुले भने ४० प्रतिषत माओबादी समर्थक मतदाता र २० प्रतिषत कांग्रेश समर्थक प्रगतिशिल मतदाताले एमाले नेता ठगुन्नालाई मतदान गर्ने दाबी गर्दै आएका छन् । यो दाबीमा आशिंक सत्यता गत स्थानीय तह निर्वाचनमा समेत देखिएको छ । स्थानीय तह निर्वाचनमा कम्युनिष्ट उम्मेदवार नौँ वटै पालिकामा निर्वाचित हुँदा कांग्रेश उम्मेदवारले स्थानीय तह अध्यक्ष वा प्रमुख पदमा गठबन्धन गरेर समेत खाता समेत खोल्न सकेको थिएन ।
सार्वजनिक अभिव्यक्ति सुन्दा नेता बडूले दार्चुलामा कांग्रेशको जित सुनिश्चित रहेको दाबी गर्दै आउनुभएको छ भने नेता ठगुन्नाले दार्चुलामा एमाले कमसेकम पाँच हजार बढी मतान्तरले विजयी हुने दाबी गर्नुभएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रमुखको मतलाई हेर्ने हो भने गठबन्धन कायम रहदा पनि गठबन्धनले २९ हजार ७ सय ५० मत प्राप्त गरेको थियो भने एमाले एक्लैले ३० हजार ४०२ मत प्राप्त गरेको थियो । स्थानीय तह निर्वाचनमा एमाले एक्लैले गठबन्धनसंग ६५२ बढी मत पाएको र निर्वाचनपछि समेत कांग्रेश, माओबादी र एकिकृत समाजबादीबाट जिल्लास्तरीय नेताहरु एमालेमा प्रवेस गरेकोले अझै थप मतान्तरले एमालेको विजय सुनिश्चित रहेको एमाले नेताहरुको दाबी रहेको छ ।
स्थानीय तह निर्वाचनमा महाकाली नगरपालिकामा एमालेले ५,००३ र गठबन्धनले ३,८८७ मत ल्याएको थियो । शैल्यशिखरमा एमालेले ५,५०९ र गठबन्धनले ४,६६२ मत ल्याएको थियो । मालिकार्जुन गाउँपालिकामा एमालेले ४,०३४ र गठबन्धनले ३,३२२ मत ल्याएको थियो । नौगाड गाउँपालिकामा एमालेले ३,२७७ मत ल्याएको थियो भने गठबन्धनले ३,७८३ मत ल्याएको थियो । लेकम गाउँपालिकामा गठबन्धनले २,९७६ र एमालेले २,४४५ मत ल्याएको थियो । दुहुँ गाउँपालिकामा गठबन्धनले २,७९६ र एमालेले २,८८६ मत प्राप्त गरेको थियो । व्याँस गाउँपालिकामा गठबन्धनले २,३९६ र एमालेले २,९४९ मत ल्याएको थियो । मार्मा गाउँपालिकामा गठबन्धनले ३,६१६ र एमालेले २,९१४ मत ल्याएको थियो । अपिहिमाल गाउँपालिकामा गठबन्धनले २,३१२ र एमालेले १,३८५ मत ल्याएको थियो । गठबन्धनका शिर्ष नेताहरुको प्रतिक्रिया अनुसार दार्चुलामा गठबन्धनको विजय सुनिश्चित रहेको छ । एमालेका शिर्ष नेताहरुको भनाई अनुसार गठबन्धन कायमै रहेको अवस्थामा समेत प्रतिनिधिसभा र प्रदेशसभामा दार्चुलामा एमालेको जित सुनिश्चित रहेको छ । मंसीर ४ गतेको निर्वाचनमा कसले बाजी मार्ला अर्थात जनताले कसलाई पत्याउलान हेर्न बाँकी नै छ । बाँकी अनुमान दार्चुलेली जनता र मतदाताकै जिम्मा…
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




