दार्चुला । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम आज दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा सम्पन्न भएको छ । शनिबार दार्चुला सदरमुकाम खलंगामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको युवा संघले आइतबार आज शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा प्रदेश सभा क्षेत्र (ख) अन्तरगतको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दार्चुलाले अगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको युवा संघ दार्चुलाका इन्चार्ज एबं एमाले जिल्ला कमिटी सदस्य कोमल बिष्टले जानकारी दिनुभयो । गोकुलेश्वर दार्चुलामा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि पाँच जनाले नेकपा (एमाले) मा प्रवेस गरेका छन् । तरुण दलका नेता महेश राज बिष्ट, कांग्रेशका गणेश राज बिष्ट, नेकपा एकिकृत समाजवादीका शैल्यशिखर नगरकमिटी सचिव कम्मनसिंह खत्री, कांग्रेशका लक्ष्मी दमाई र कल्यान राम दमाई एमालेको निति र नेतृत्व मन पराएर एमालेमा प्रवेश गरेको एमाले युवा नेता दौलतसिंह ठगुन्नाले बताउनुभयो ।
एमाले पोलिटब्युरो सदस्य, जिल्ला इन्चार्ज एबं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा युवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठगुन्नाले युवाहरुलाई चुनाव केन्द्रित गतिविधि अगाडी बढाउन निर्देशन दिनुभयो । दार्चुलामा एमालेको विजय सुनिश्चित रहेको सन्देश लगेर गाउँघरमा परिचालित हुन नेताहरुले युवाहरुलाई प्रशिक्षण गरिरहेको बताइएको छ । एमालेलाई विजयी गराउने जिम्मेवारी युवाहरुको काँधमा पनि रहेको नेता ठगुन्नाको भनाई छ ।
प्रतिनिधिसभा र दुबै प्रदेशसभा क्षेत्रमा एमालेको विजय सुनिश्चित हुने गरी गाउँघरमा खटिन र एमालेले जिल्लाको विकासका लागि गरेका कामबारे जनतालाई सुसूचित गराउन युवाहरुलाई प्रशिक्षण गरिएको नेताहरुले बताएका छन् ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया