दार्चुला । आज दशैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई आज बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि साइत नखोज्नेहरुले आज दिनभर जुनसुकै बेला टीका लगाउन सक्नेछन् ।
टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तीको प्रतीकका रुपमा मनाइने विजयादशमी दशैँको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ ।
मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ । विगतमा कोरोना महामारीले केही खल्लो भएको दशैँ यसवर्ष धेरै उत्साहका साथ मनाइँदैछ ।
खानपानमा ध्यान दिन अनुरोध
चाँडपर्वका बेला खानपानमा ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाब दिएका छन् । दशैं रमझम, भेटघाट र टीकाटालाकोमात्रै नभएर स्वादिष्ट खानाको पनि पर्व भएकाले खानपानमा ध्यानदिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका हुन् । बालबालिका, बुढापाका र स्वास्थ्य कमजोर भएकाहरूका लागि बढी जोखिमपूर्ण हुने भन्दै चिल्लो, पिरो, माछा मासु लगायत खाने कुरा खाँँदा विशेष ध्यान दिन आग्रह गरिएको छ ।
उच्च रक्तचाप, मधुमेह, मुटु रोगी, उच्च कोलेस्ट्रोल, पेटको दीर्घकालीन रोगीहरू, ग्याष्टिक, पेटको अल्सर, दीर्घकालीन मृगौला रोग भएका लगायतले चिल्लो, पिरो, माछा, मासु लगायत अन्य खानेकुरा खाँदा ध्यान दिनु पर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
राष्ट्रपतिले नागरिकलाई टीका लगाइदिने
राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका लगाइदिने हुनु भएको छ । राष्ट्रपति कार्यलयमा टीका र प्रसाद प्रदान कार्यक्रम राखेको छ । दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ भने तीनदेखि पाँच बजेसम्म अन्यलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।
तर, यसपालि पूर्व राजा ज्ञानेन्द्र शाहले भने नागरिकलाई टीका नलगाइदिने बताइसक्नु भएको छ । डेङ्गीको महामारी फैलिरहेका बेला पूर्व राजा शाहले टीका नलगाउने निर्णय लिएको उहाँका संवाद सचिव फणी पाठकले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया