दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बजारदेखि लेकम गाउँपालिकाको केन्द्र रातामाटासम्मको सडक सुचारु भएको छ । बर्खाको बाढी, पहिरोका कारण अवरुद्ध भएको सिरोडादेखि मैखोली हुँदै रातामाटा जोड्ने सडक मर्मत गरीएपछि रातामाटासम्म गाडी चल्न थालेका हुन् ।
गोकुलेश्वरदेखि चौपातासम्म केही दिन अवरोध भएपनि अधिकासं समय यातायातका साधन चलिरहेका थिए । रातामाटा जोड्ने सडक मैखोली क्षेत्रमा ठाउँठाउँमा भत्केको थियो । खोलाले कटान गरेको र भत्केको क्षेत्रमा सडक मर्मत गरेर गाउँपालिकाको केन्द्र रातामाटासम्म यातायात सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो । लेकम गाउँपालिकाको लगानीमा सडक मर्मत गरिएको हो ।
अझै बगौरादेखि लाली जोड्ने सडकखण्डमा मर्मत गर्नुपर्ने आवश्यकता रहेको स्थानीयले बताएका छन् । बर्खाको समयमा सबै ग्रामीण सडक आशिंकदेखि पूर्ण रुपमा अवरुद्ध बनेका छन् । गोकुलेश्वर लाली सडकको रातामाटासम्म मात्रै यातायात सञ्चालन हुन थालेका छन् । लेकमभित्रका विभिन्न वडा जोड्ने अन्य स्थानीय सडक र प्रदेश सरकारले निर्माण गरिरहेको ऐरीछाना धनथला सडक समेत अवरुद्ध रहेको छ । ऐरीछाना धनथला सडकको ठाउँठाउँमा बाढी पहिरोले सडक भत्केका कारण मर्मतका लागि ठूलो लगानी र बढी समय लाग्ने देखिएको छ ।
स्थानीय तहको बजेटबाट गाउँगाउँमा सडक पुर्याउने होडबाजी चलेपनि मर्मत अभावमा अधिकासं सडकमा यातायातका साधनहरु भने चल्न सकेका छैनन् । सडक भत्केको ठाउँमा पैदल यात्रा गर्न समेत समस्या भएको स्थानीयको गुनासो छ । सडकहरु मर्मतसम्भार अभावमा क्षतविक्षत बनेका छन् ।
नयाँ ट्र्याक खोलिएका कच्चि सडकहरुलाई नियमित र भरपर्दो सडक बनाउन धेरै बजेट चाहिने र निकै कठिन रहेको अध्यक्ष जोशीको भनाई छ । ऐरीछाना धनथला र गोकुलेश्वर लाली सडकलाई मात्रै पनि बाह्रै महिना यातायात चल्न सक्ने सडक बनाउन सके लेकममा सडकको आधारभूत समस्या समाधान हुने उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया