दार्चुला । ऐरीछाना धनथला सडक अन्तरगत लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीको बित्थड घेरमा भन्ने गाउँमा घरमाथिबाट ठूल्ठूला ढुगां खस्दा दुई घरपरिवार जोखिममा परेका छन् । भिरबाट ढुगांहरु खसेर घरकै माथि रोकिएको कारण जुनसुकैबेला उक्त ढुगांहरुले घरमा क्षति पुर्याउने जोखिम रहेको स्थानीयले बताएका छन् ।
लगातारको बर्षाका कारण खसेका ढुगांहरुले स्थानीय उत्तम साउँद र मञ्जु साउदको घर जोखिममा परेको छ । तत्काल ढुगां व्यवस्थापन गरेर जोखिम नियन्त्रण गर्न नसके दुबै परिवार विस्थापित हुने अवस्था सिर्जना भएको स्थानीय एबं लेकम १ का वडासदस्य माधबसिंह साउदले जानकारी दिनुभयो । ढुगां हटाइदिन गाउँपालिका र सडक कार्यालयलाई अनुरोध गर्दा समेत अहिलेसम्म जोखिम नियन्त्रणका लागि काम नभएको उहाँको भनाई छ । तत्काल मेसिन लगाएर ढुगांहरु हटाइदिन पालिका र सडक कार्यालय तथा निर्माण व्यवसायी लगायत सरोकारवालाहरुसंग स्थानीयले अनुरोध गरेका छन् ।
असारको महिनामा काटिएको उक्त सडकखण्डका कारण क्षति व्यहोर्नुपरेको स्थानीयको भनाई छ । जोखिमपूर्ण क्षेत्रमा पर्खाल र जालीको व्यवस्थापन नगरिदिदा अहिले समस्या निम्तिएको बताइएको छ । काम गर्ने बेला ठेकेदारले जालि हाल्ने र क्षतिपूर्ति समेत दिने भनेपनि सडकमा न जालि हालेको र न पीडितले क्षतिपूर्ति पाएको स्थानीयको गुनासो छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया