दार्चुला । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि दार्चुलाभरि एमालेको चुनावी अभियान चलेको छ । गत शुक्रबारबाट सुरु भएको अभियान सबै पालिका कमिटीमा पुगेको छ । एमालेको चुनावी प्रचार अभियानको मूल टोली नौगाड पुगेको छ । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५, ६ र ४ हुँदै टोली नौगाड वडा नम्बर ६ रैचु पुगेको छ । टोली आइतबार नै वडा नम्बर ४ सिप्टी पुग्ने कार्यक्रम रहेको छ ।
मालिकार्जुन धामबाट सुरु भएको प्रचार अभियानअन्तर्गत प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना र प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार रामदत्त जोशी टोलीमा सहभागि छन् । यस्तै पार्टी जिल्ला अध्यक्ष प्रेमसिह धामी, सचिव शेरसिह धामी टोलीमा सहभागि छन् । रैचुमा भएको कार्यक्रममा नौगाड गाउँ कमिटी अध्यक्ष जनकसिह ठगुन्नाको अध्यक्षता रहेको थियो । नौगाड क्षेत्रमा टोलीले घरदैलो अभियान थालेको नौगाड गाउँ कमिटी अध्यक्ष ठगुन्नाले बताउनुभयो । ‘जनताको आर्शिवाद लिने काम भइरहेको छ,’ प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले भन्नुभयो, ‘जनता अहिले एमालेको पक्षमा छन् । ताल न बेतालको गठबन्धन जनताले चाहेका छैनन् ।’ एमालेले थालेको विकास निर्माणको कामले पनि जनता खुसी छन् । स्थानीय तह निर्वाचनमा एमाले जिताउन नसकिएको पीडा अहिले आएर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले जिताउन जनता आतुरु छन्, ठगुन्नाको भनाई छ ।
गोकुलेश्वर हुँदै खार–खलंगा जोड्ने सडक निर्माण एमालेले कामको लागि खाद्यान्नमार्फत सुरु गरेको हो । पछिल्लो समय आफु सांसद हुँदा प्रदेश गौरबको सडकमा आफ्नो नेतृत्वमा राखिएको जनताले बुझेका छन् । अहिले यहि क्षेत्रबाट गठबन्धनका उम्मेदवार उठेपनि जनताको पक्षमा काम गर्न नसकेको उहाँको भनाई छ । २०७४ सालमा एमालेको स्थानीय सरकार हुँदा गरेका काम र आफु सांसद मन्त्री हुँदा नौगाड क्षेत्रको विकासमा योगदान महत्वपूर्ण रहेको भन्दै जनताले आर्शिवाद दिएको उहाँको भनाई छ ।
यस्तै लेकम गाउँपालिकाको वडा तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । लेकम गाउँपालिका वडा नम्बर २ कुणीमा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य इन्द्रसिह विष्टको प्रमुख आतिथ्य र प्रदेश कमिटी सदस्य दानीराम पार्कीको विशिष्ट आतिथ्यता रहेको थियो । पालिका इन्चार्ज एबं जिल्ला कमिटी सचिवालय सदस्य परमानन्द जोशीको नेतृत्वमा भइरहेको कार्यक्रममा वडास्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जिल्ला कमिटी सदस्य नारायणदत्त जोशी संयोजक र भवाव सिंह धामी सहसंयोजक रहने गरी ४१ सदस्यिय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको एमाले जिल्ला सल्लाहकार कमिटी सदस्य पदमराज जोशीले जानकारी दिनुभयो ।
यस्तै अपिहिमाल गाउँपालिका वडा नम्बर २ मा वडा कमिटी अध्यक्ष नन्दनसिह धामीको अध्यक्षतामा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । भने धिरेन्द्रसिह धामीको संयोजकत्वमा ३५ सदस्य बुथ परिचालन कमिटी गठन गरिएको छ । एमाले प्रदेश कमिटी सदस्य उमेशसिह खत्रीको प्रमुख आतिथ्यमा वडा निर्वाचन परिचालन कमिटी गठन भएको हो ।
यस्तै प्रदेश सभा १ का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली व्याँस गाउँपालिका २ को दुम्लीङ हुँदै सकनाडी, फुलचाङपानी, राप्ला हुँदै तुसरपानी पुग्दैछ । माल गाउँ हुँदै सुरु भएको अभियानमा एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकी सहभागि छन् । ‘गाउँमा जाँदा जनताबाट राम्रो प्रतिक्रिया पाइएको छ,’ उम्मेदवार जोशीले भन्नुभयो, ‘जनता एमालेप्रति खुसी छन् ।’ विगतमा स्थानीय सरकार काग्रेस हूँदा जनताको काम गर्न नसकेको गुनासो स्थानीयले गरेका छन् । स्थानीय सरकार अहिले एमालेकै छ । सोही कारण प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार जिताउन जनता ढुक्क छन् ।
यस्तै दुहुँमा पालिकास्तरीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । पालिका कमिटी अध्यक्ष जङ्गबहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य उदयसिह बडालको प्रमुख आतिथ्य रहेको थियो । पालिका कमिटीले वडातहका जिल्ला कमिटी सदस्यहरुलाई वडा निर्वाचन परिचालन कमिटीको जिम्मेवारी दिइएको छ ।
मालिकार्जुन गाउँपालिकामा सोमबार पार्टी कमिटी बैठकबसी निर्वाचनमा होमिने तयारी भएको पालिका कमिटी अध्यक्ष हरकसिह ठगुन्नाले जानकारी दिनुभयो । महाकाली नगर कमिटीले सोमबार नगर कमिटी बैठक बोलाएको छ । बैठकबाट परिचालन कमिटी गठन गरि सबै वडामा परिचालन गरिने नगर कमिटी अध्यक्ष नरसिह चैसिरले जानकारी दिनुभयो । निरन्तर दुईपटक जिल्लाबाट नेतृत्व एमालेका प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले गरेका छन् । ‘योबीचमा महत्वपूर्ण विकास निर्माण कामको सुरुवात भएको कारण एमालेप्रति अहिले पनि जनताको विश्वास बढि छ,’ एमाले प्रचार विभाग प्रमुख खडक बडालले भन्नुभयो ।
जिल्लाको गौरबको रुपमा रहेको महाकाली करिडोर अन्तर्गत दार्चुला तिंकर सडक, गोकुलेश्वर एयरपोर्ट, भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गर्नुजस्ता काम एमाले सरकारको पालामा भएका छन् । खानेपानीको हाहाकार भएको जिल्लाको लेकम, मालिकार्जुन, रानिशिखर लगायतका क्षेत्रमा खानेपानी योजना पुर्याउनुजस्ता काम एमालेले गरेको छ । यस्तै सडक योजना, सञ्चार, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका महत्वपूर्ण काम एमालेले गरेको भन्दै सोही काम जनतामाझ लगेर एमालेका उम्मेदवार गाउँ गएको बडालको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




