दार्चुला । दार्चुलामा कात्तिकको सुरुमै दोस्रो पटक हिमपात भएको छ । अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका केहि स्थानहरुमा मंगलबार हिमपात भएको छ । गत साता व्यास र अपिहिमालमा पहिलो पटक हिमपात भएको थियो । मंगलबार मौसममा आएको बदलीका कारण हिमपात, असिना र वर्षा भएको स्थानीयले बताएका छन् ।
मौसम बदली भएपछि अपिहिमाल गाउँपालिका वडा नम्बर १, २ र ६ को उच्च भेगहरुमा हिमपात भएको छ । गाउँपालिकाको घुसा, क्षेत्ती, सिति र खात्ती लगायतका स्थानहरुको माथिल्लो भेगमा हिमपात भएको हो । व्यास गाउँपालिकाको छाङरु र तिङ्करमा पनि हिमपात भएको छ । व्यासको वडा नम्बर १ मा पर्ने छाङरु र तिङ्करमा हिमपात भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुले जनाएको छ ।
हिमपात भएपछि सदरमुकाम खलंगासहित जिल्लाभरी चिसो बढेको छ । चिसो बढेसंगै व्यासबासी बेँसी झर्ने तयारी गर्न थालेका छन् । मौसममा सुधार भए मङ्सिर पहिलो साता तथा चिसो बढ्दै गएमा कात्तिकको अन्तिमसम्ममा व्यासको वडा नम्बर १ का सबै स्थानीय सदरमुकाम खलंगा बसाँइसराई अर्थात कुञ्चा सर्ने तयारीमा छन् ।
छाङरु र तिङ्करका स्थानीय गर्मीको समयमा छ महिना मात्रै गाउँमा बस्ने गरेका छन् । बाँकी छ महिना हिमपातको समयमा लालाबाला र बस्तुभाउसहित बेँसी झर्ने गरेका छन् । अधिकासं व्यासबासीको दार्चुला सदरमुकाम खलंगा र छाङरु, तिङ्करमा दोहोरो बसोबास रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




