दार्चुला । दार्चुलाको लेकम क्षेत्र (लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिका) मा रात्री जात्राको रौनकता छाएको छ । लेकम क्षेत्रकै प्रशिद्ध लटिनाथ जयपुर जात्रा कात्तिक १६ गते लाग्ने भएको छ । लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातास्थित लटिनाथ जयपुर मन्दिरमा १६ गते नवमीको राती जात्रा लाग्ने मन्दिर व्यवस्थापन समिति अध्यक्ष उमाकान्त विष्टले जानकारी दिनुभयो । जात्रा व्यवस्थापनका लागि सरसफाइ, विद्युतिकरण लगायत आवश्यक पूर्वतयारीको काम भइरहेको उहाँले बताउनुभयो । जात्रामा मदिरा, जुवातास जस्ता क्रियाकलापलाई पूर्ण निशेध गर्ने निर्णय गरिएको छ । जयपुर जात्राको एक दिन पहिले कात्तिक १५ गते हुनैनाथ मन्दिर धुरामा आयोजना हुने भनिएको अष्टमी जात्रा भने गाउँमा जुठो परेका कारण नहुने भएको छ ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा रहेको मालिकार्जुन मन्दिरमा कात्तिक २१ गते चतुर्दशीका दिन रात्री जात्रा लाग्ने भएको छ । २० गते शैल्यशिखर धुरामा कात्तिक शुक्ल त्रियोदशीका दिन पुजन जात्रा लाग्ने र त्यसको भोलिपल्ट मालिकार्जुन मन्दिरमा रात्री जात्रा लाग्ने मालिकार्जुन मन्दिर विकास समितिले जनाएको छ । जयपुर र मालिकार्जुन जात्रामा अन्य जात्राको भन्दा निकै बढी भिड लाग्ने गरेको छ ।
हिन्दुहरुको महान चाड दशैं र तिहार सकिएसंगै सुदूरपश्चिमको पहाडी जिल्लामा जात्राको रौनकता छाएको छ । हरेक बर्ष कार्तिक शुक्ल पक्षभरी दार्चुलासहित पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा लाग्ने गरेको छ । शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा शनिबार द्धितिया तिथिबाट जात्रा शुरु भएको हो । पुर्णिमाका दिनसम्म दैनिक जसो विभिन्न शक्तिपिठमा रात्री जात्रा लागिरहेका छन् ।
लेकम क्षेत्रमा दशैं तिहार भन्दा पनि जात्रालाइ बढि महत्व दिने गरिएको छ । दार्चुलासंगै बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा र बझाङका विभिन्न मन्दिरमा समेत जात्रा शुरु भइरहेका छन् । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, पाटन नगरपालिकाको महारुद्र मन्दिर, शिवनाथ गाउँपालिकाको शिवनाथ मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । यस्तै मेलौलीमा रहेको मेलौली भगवती मन्दिर, सुर्नयाको रौलेश्वरमा रहेको भवानी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । लेकमको भगवती मन्दिर कुणीमा पनि पुर्णिमाको दिन जात्रा लाग्ने बताइएको छ ।
जात्रालाई शान्त र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मालिकार्जुन र जयपुर जात्राका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया