शैल्यशिखरका पूर्व मेयर–उपमेयरले फिर्ता गरेनन सरकारी सम्पती, लाखौँ बेरुजु तिर्न बाँकी

दार्चुला । शैल्यशिखर नगरपालिकाका पूर्व मेयर–उपमेयरले कार्यकाल सकिएपछि समेत सरकारी सम्पती फिर्ता नगरेको पाइएको छ । तत्कालिन नगरप्रमुख अमरसिंह धामी र उपप्रमुख राजमती बम पालले नियम, कानुन विपरीत नगरपालिकाबाट बुझेको सुविधा असुल गर्न महालेखा परीक्षकको कार्यालयले निकालेको प्रतिवेदनका आधारमा नगरपालिकाले पत्राचार गर्दा समेत नतिरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०७८/०७९ को प्रारम्भीक प्रतिवेदन अनुसार तत्कालिन नगरप्रमुख, उपप्रमुख, विभिन्न संस्था, व्यक्ति र कर्मचारीको नाममा लाखौँ रकम बेरुजु देखिएको छ । सरकारको आन्तरिक राजश्व खाता नम्बर ३१७००१००००२७६ मा बेरुजु रकम जम्मा गरि सो को सक्कल भौचर पत्र प्राप्त भएको मितिले ७ दिनभित्र वा सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिनमा बुझाउनु हुन शैल्यशिखर नगरपालिकाले कात्तिक ४ गतेको मितिमा लिखित अनुरोध गरेपनि हालसम्म नबुझाएको पाइएको छ । कामबाट अलग हुँदा वा कार्यकाल सकिदा समेत सम्पत्ति फिर्ता नगरेको भन्दै महालेखाले बेरुजु रकम असुल गर्न प्रतिवेदन निकालेको छ ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्त नियमावली को नियम १०३ (१) कुनै सार्वजनिक पद धारण गरेको व्यक्ति आफ्नो पदबाट अलग हुँदा आफ्नो जिम्मामा रहेको नगद, जिन्सि, मालसमान तथा अन्य सरकारी सम्पत्ति हालवालालाई वा हालवाला नभएमा कार्यालय प्रमुखले तोकेको कर्मचारीलाई बरबुझारथ गर्नुपर्ने व्यवस्था रहेको छ । तर लेखा परीक्षणको क्रममा जिन्सि शाखाबाट प्राप्त जानकारी अनुसार जिन्सि शाखाले कार्यालय सामान फिर्ता गर्न लिखित वा मौखिक अनुरोध गर्दा समेत विभिन्न पदाधिकारी तथा कर्मचारीले यस कार्यालयको कामबाट अलग भइसक्दा पनि आफ्नो जिम्मामा रहेका सरकारी सम्पतीलाई नबुझाएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको विभिन्न कार्यालय सामाग्री फिर्ता नगरेवाफत पुर्व नगरप्रमुख अमरसिंह धामीबाट ६ लाख ३४ हजार ९४६ रुपियाँ र पूर्व नगर उपप्रमुख राजमती बम पालबाट विभिन्न सामाग्री फिर्ता नगरेवाफत १ लाख ६० हजार ५९८ रुपियाँ असुल गर्नुपर्ने देखिएको छ । यस्तै पूर्व नगरप्रमुख अमरसिंह धामीलाई बिलबिजक नराखी सिंहदरवारमा डेलिगेसन गएको भनि बिजक बिनानै खर्च लेखेको तीन लाख ५० हजार रकम समेत असुलउपर गर्नुपर्ने बेरुजुमा राखिएको छ । यस्तै जिल्लामा क्रियाशिल नरहेका विभिन्न मिडियालाई कानुनी प्रकृया समेत नपुर्याइ भुक्तानी गरेको लाखौँ रकम समेत बेरुजु देखिएको छ ।

गाउँ तथा नगरसभाका सदस्यहरुको सुविधा सम्बन्धि ऐन २०७५ अनुसार नगरप्रमुख तथा उपप्रमुखले मासिक एकमुष्ट रुपमा भत्ता पाउने व्यवस्था छ । पालिकाका प्रमुख तथा उपप्रमुखले मासिक रुपमा एकमुष्ठ भत्ता सुविधा प्राप्त गरेपश्चात अरु सुविधा पाउने व्यवस्था नरहेकोले नियम सम्मत नदेखिएको भन्दै घरभाडा खर्च वाफत पूर्व नगरप्रमुख अमरसिंह धामी बस्ने भवानसिंह साहुको घरको ३ लाख ५८ हजार ५० रुपियाँ र नगरउपप्रमुख राजमती बम पाल बस्ने अम्बादत्त जोशीको घरको १ लाख ४३ हजार २२० रुपियाँ गरी कुल ५ लाख १२ हजार ७० रुपियाँ घरभाडा समेत अनियमित देखाएको छ । अन्य विभिन्न जनप्रतिनिधि, कर्मचारी र व्यक्तिहरुको नाममा कानुन र प्रकृया विपरीत भुक्तानी भएको लाखौँ रकम बेरुजु समेत असुलउपर गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?