दार्चुला । नेकपा एमालेका अध्यक्ष एबं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउने बताउनुभयो । आसन्न मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एमालेको देशव्यापी चुनावी अभियानको दार्चुला सदरमुकाम खलंगाबाट उद्घाटन गर्नुहुदै अध्यक्ष ओलीले नेपालको एक इन्च भूमि पनि मिचिन नदिने र अतिक्रमित भूमि फिर्ता ल्याउने बताउनुभयो । हामीले नक्सा मात्र होइन, अतिक्रमित भूमि फिर्ता ल्याउँछौँ, उहाँले भन्नुभयो, विकास, राष्ट्रियताको रक्षा, भौगोलिक रक्षा गर्ने कुरामा एमाले ग्यारेन्टी गर्छ ।
राष्ट्रियताको प्रश्न र विकासको लागि साथै पछाडि परेको क्षेत्र र पछाडि परेको समुदायलाई एमालेले समस्या समाधान गरेर अघि बढाउछ, विकासको मूल धारमा लैजान्छ भन्ने सन्देश दिनका लागि एमालेले देशव्यापी चुनावी अभियान दार्चुलाबाट सुरुवात गरेको ओलीले बताउनुभयो । हामीले २०७९ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि चुनाव घोषणापत्रमा सबै क्षेत्र समेटेर २० वटा ग्यारेन्टी गरेका छौँ । नेकपा एमाले जहिले पनि देशमा समस्या पर्दा हाजिर हुने गरेको उहाँले बताउनुभयो । दार्चुलाको सीमा सुरक्षा, सडक निर्माण, दार्चुला सदरमुकाम खलंगा जोगाउन तटबन्ध निर्माण, कृषिको विकास लगायत समग्र विकासका काम एमालेले गर्ने ओलीको भनाई छ ।
म भारतलाई अहिलेपनि भन्न चाहान्छु, सीमा क्षेत्र खलंगाबाट ओलीले भन्नुभयो, “नदी सर्यो भनेर सीमा वरतिर सार्ने होइन, पहिले नदी भएको ठाउँमा भारतले बाँध बाध्ने होइन, ठूलो भारतले सानो चित्त गर्ने होइन, भारतले त्यस्तो काम गरेमा नेपाली जनताले थिचोमिचोका रुपमा बुझ्छन, त्यस्तो गर्नुहुदैन् ।” भारतले विभिन्न बहानामा काली नदीको उदगम स्थानसमेत नक्कली बनाएको बताउदै उहाँले भन्नुभयो, ‘हाम्रो भूगोल जे–जति गरे पनि फिर्ता ल्याउने कुरामा एमाले दृढ छ।’ तीन दशक पहिले नै स्वर्गीय प्रेमसिंह धामीले अतिक्रमित सीमा क्षेत्रको आवाज उठाएको स्मरण गर्दै ओलीले भूमि फिर्ता ल्याउने अभिभारा एमालेकै काँधमा रहेको धारणा राख्नुभयो । ‘दार्चुलाबाट मन्त्री भएका कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अहिलेसम्म संसदमा कालापानीको ‘क’ भन्न आँट गर्नुभएन्,’ ओलीले भन्नुभयो, ‘मन्त्री भएर जिल्लाको लागि गर्नु के भयो, जिल्ला बिर्सिनुभयो । झन् यो जनमानस देखेपछि काठमाडौं गएर बसे हुन्छ।’ गणेश ठगुन्नालाई जिताएर पठाउनुहोस, गदार्चुलाको विकास एमालेले गर्छ । सात तर्फ फर्केका सात दल मिलेर देशको विकास सम्भव नरहेको कुरा नेपाली जनताले बुझिसकेको उहाँको भनाई छ ।
एमाले नेतृत्वको सरकारले नक्सा जारी गरेकै कारण अहिले दार्चुलाको व्यासको कालापानी विश्वले चिन्ने भएको छ । उहाँले भन्नुभयो, सेनाद्धारा तिब्र गतिमा तिङ्कर सडक निर्माण गरेर चीनसम्मको सीमासम्म जोड्ने प्रयास भइरहेको छ । कडा चट्टानी भूगोल भएका कारण यो क्षेत्रमा सडक निर्माण गर्न समय लागिरहेको उहाँको भनाई छ । विगतमा भारतले हाम्रै भूमि भएर सीमासम्म सडक लग्यो । अहिले हामीले आफ्नै भूमिबाट बनाउँदासमेत उसले चित्त दुखाउँछ, ओलीले भन्नुभयो, निर्वाचनपछि बन्ने एमाले सरकारले दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पूल निर्माण गर्नेछ । यस्तै, बाढीका कारण बगाएको सदरमुकाममा खलंगा सुरक्षित हुनेगरी तटबन्धन निर्माणको काम गरिने बताउनुभयो । हेलिकोप्टरमार्फत खलंगा पुगेका ओलीले स्वर्गीय प्रेमसिंह धामीको सालिकमा गएर माल्यार्पण गर्नुभयो । एमाले सचिव एबं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवार एबं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना लगायत नेताहरुको आतिथ्यता रहेको कार्यक्रममा हजारौँ मानिसको उपस्थिति रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।







प्रतिक्रिया