दार्चुला । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भारत सित जोडिएका देशभरका सबै सीमा पुलसहित नाकाहरू बन्द भएका छन् । निर्वाचनका लागि जिल्लाका सीमानाका ७२ घण्टाका लागि सिल गरिएको प्रशासनले जनाएको छ ।
भारतसित सीमा जोडिएका दार्चुलाका लाली, जोलजिवी, बाकु, दत्तु, पुलघाट खलंगा, तिगरम, बडूगाउँ, मलघट्टे, माल र सीतापुल नाका मंसिर ४ गते राति १२ बजेसम्म सिल गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएका जिल्लाको सबै नाकाहरु ३ दिनका लागि बन्द गरिएको हो । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पनि बन्द भएको छ ।
स्थानीय प्रशासनले मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द भएको जनाएको छ । भारतबाट घुसपैठ हुनसक्ने भन्दै सिमावर्ती गाउँहरुमा सशस्त्र प्रहरीले सुरक्षा अवस्था कडा पारेको छ । शंकास्पद सवारी र व्यक्तिमाथि विशेष निगरानी बढाएको सशस्त्र प्रहरीका एक अधिकारीले बताउनुभयो । ‘बोर्डर सिल छ । तर खुल्ला सिमानाका कारण गोरेटे बाटो भएर पनि मानिसहरु आवत–जावत गर्छन् । त्यसैले सुरक्षा सतर्कता बढाउनु परेको प्रहरीले जनाएको छ । बन्द भएका अधिकासं सीमानाका मंसिर ५ गते विहानदेखि सुचारु हुनेछन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया