दार्चुला । निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, भयरहित र विश्वसनीय तरिकाले सम्पन्न गर्न निर्वाचन आयोगले मंसिर १ गते विहिबार राति १२ बजेदेखि स्थिर अवधि सुरु भएको जनाएको छ । राजनीतिक दल र उम्मेदवारले मत मागेर हैरान पारेका मतदाताले यस अवधिमा शान्त मस्तिष्कले कस्तो जनप्रतिनिधि रोज्ने भन्ने उपयुक्त निर्णय गर्नुपर्ने हो, तर कतिपय गाउँठाउँमा मतदातालाई आर्थिक प्रलोभनमा पारेर मत बदल्न प्रयास भइरहेको गुनासो आइरहेका छन् । दार्चुलामा स्थिर समयमा समेत नेता कार्यकर्ताहरु मतदाता भेटेर पैसा दिने तथा भोट मागेर हैरान पार्ने गतिविधिमा संलग्न रहेको गुनासो छ ।

उम्मेदवारहरूले मतदातालाई प्रभाव पार्न जसरी पनि जित्ने रणनीति बनाउछन । अन्तिम अस्त्र प्रयोग गर्न उनीहरू गाउँ–गाउँमा कार्यकर्ता परिचालन गरेर मतदातालाई प्रभाव पार्ने, सत्ता, शक्ति र पैसाको प्रलोभन देखाएर आफ्नो पक्षमा पार्ने क्रम पनि उच्च छ। लेकमका एक मतदाता भन्छन्, ‘मौन अवधिमा रक्सी, मासु र पैसा बाँड्छन्। खाने कुरामा पनि यसअघि धेरै मतदाता विकेको देखेको छु।’ ४८ घण्टा मौन अवधी हुने भएकाले यो समय दिनमा भन्दा रातमा पैसा र प्रलोभनको प्रभाव मतदातामा बढी पार्ने क्रम छ। अन्य दलभन्दा सत्तामा रहेका दल र उम्मेदवार सत्ता र शक्तिको दुरुपयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्न लागेका हुन्छन्। प्रतिनिधि तथा प्रदेशसभाको मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवारहरूको ध्यान नै अब पैसा बाँड्ने समय भयो भन्नेमा हुने एक उम्मेदवार नै ठट्यौली पारामा भन्छन्। ‘मौसम नै यस्तै छ। चुनाव जित्न सबै अस्त्र प्रयोग गर्नुपर्छ,’ ती उम्मेदवार भन्छन्, ‘चुनाव त्यसैले महँगो भएको छ।’

चुनावी सरगर्मी तातेको छ। उम्मेदवारको प्रतिस्पर्धाले तातेको वातावरणलाई शान्त पार्ने समयका रूपमा लिइन्छ मौन अवधि। तर, यही अवधिमा ‘कानेखुसी प्रचार–प्रसार’ हुन्छ। पैसाको चलखेलमा मतदातालाई प्रलोभनमा पारिन्छ। यो क्रम मौन अवधि अघि नै सुरु भएको भेटिएको छ। यसबाट मतदाता जोगिनुपर्छ। मौसममा चिसोपना बढ्दै गएको छ। राजनीतिमा भने राप बढेको छ। मतलाई आफ्नो पक्षमा पार्न आचारसंहिताको उल्लंघन पनि उत्तिकै हुने गरेको छ। उम्मेदवारहरू हरतरहले मतदाता प्रभावित पार्न सक्रिय देखिएका छन्। मतदाता रिझाउन सबैभन्दा अन्तिममा प्रयोग हुने पैसाको अस्त्रले मत परिणाममा प्रभाव पार्ने गरेको बुद्धिजीवीहरूको भनाइ छ।

स्थिर समय अर्थात मौन अवधिमा अवधिमा चुनाव प्रचारप्रसारसँग सम्बन्धित कुनै कार्यक्रम सञ्चालन गरे कारबाही हुने कानूनी व्यवस्था छ । तर यस अवधिलाई राजनीतिमा निकै खतरापूर्ण समयका रुपमा हेरिने गरिन्छ । स्थिर समयमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा उम्मेदवारी रद्ददेखि एक लाख रुपैँयासम्म जरिवाना हुने कानुनी व्यवस्था छ । तर आर्थिक चलखेललाई कसरी रोक्ने भन्ने प्रश्न जटिल छ । आर्थिक चलखेलका कारण निर्वाचन खर्चिलो बन्नुका साथै गलत जनप्रतिनिधि चुनिने खतरा समेत बढ्ने गरेको छ । निर्वाचन आयोगले समेत पैसामा स्वाभिमान नबेच्न तथा पाँच वर्षका लागि असल प्रतिनिधि चुन्नका लागि सबै मतदातामा अनुरोध गरेको छ । मत आफ्नो पक्षमा पार्न आर्थिक प्रलोभन दिनेलाई मतदाताले आफै प्रहरीको भूमिका निर्वाह गरेर दुरुत्साहित गर्न आवश्यक छ ।

स्थिर समयलाई उम्मेदवारका साथै दल र नेता कार्यकर्ताहरुले दुरुपयोग गर्ने गरेको गुनासा बढेसंगै सुरक्षा चुनौती समेत बढेको छ । विभिन्न ठाउँका मतदातालाई प्रभावमा पार्ने, आर्थिक चलखेल साथै धम्की तथा विभिन्न प्रलोभनमा पार्ने भएका कारण यस अवधिलाई निकै खतरापूर्ण अवधिका रुपमा लिने गरिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्था, स्थिर समयको पालना, आचारसंहिता र मतदान स्थलको अवस्थाबारे अनुगमन समेत भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा सुरक्षा व्यवस्था चुस्त रहेको स्थानीय प्रशासनको दाबी छ । अबान्छित गतिविधिको सुक्ष्म अवलोकन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?