दार्चुलामा उत्साहजनक रूपमा मतदान जारी, मन्त्री बडूद्धारा मतदान (फोटोफिचर)

दार्चुला । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि दार्चुलामा उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

दार्चुलाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्री दिलेन्द्र प्रसाद बडू र पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको मतदान केन्द्र एउटै छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले विहान ९ बजेको समयमा मतदान गर्नुभएको छ । दार्चुला सदरमुकाम खलंगास्थित अपिनाम्पा संरक्षण क्षेत्र परिसरको मतदान केन्द्रमा मन्त्री बडूले मतदान गर्नुभएको हो । मन्त्री बडूको घर महाकाली नगरपालिका वडा नम्बर ५ को नमस्कार हो, भने पूर्वमन्त्री ठगुन्नाको घर सोहि वडाको किम्तडी हो ।

दार्चुलाका सबै मतदानस्थल तथा केन्द्रहरुमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । नौँ वटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार ५४३ र महिला ४३ हजार ६११ गरी कुल ८९ हजार १५४ मतदाता रहेका छन् । जिल्लाभरी ११२ मतदानस्थल १४१ मतदानकेन्द्र र दुई वटा अस्थाई मतदान केन्द्र रहेका छन् । व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान दार्चुला सदरमुकाम खलंगामै भइरहेको छ । जिल्लाभरी १४३ मतदान केन्द्रमा निर्वाचन गर्नका लागि मतदान अधिकृत १४३, सहायक मतदान अधिकृत १४३, सहायक कर्मचारी ६९९, कार्यालय सहयोगी १४३ गरी जम्मा एक हजार १२८ कर्मचारी र स्वयमसेबक ५२७ गरी कुल एक हजार ६५५ जना खटिएका छन ।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मतदानका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको छ । जिल्लाभरी ५२८ नेपाल प्रहरी, ८२७ म्यादी प्रहरीसहित दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।

मतदान सम्पन्न भएपश्चात आइतबार आज बेलुकी नै मतपेटिका सदरमुकाम खलंगा ढुवानी गर्ने तयारी छ । गाडी पुग्ने ठाउँमा मतपेटिका ढुवानीको लागि बसको व्यवस्था गरिएको र यातायातको पहुँच नभएको ठाउँबाट सडकमार्गसम्म मानिसले बोकेर मतपेटिका संकलन गर्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताउनुभयो । मतपेटिका संकलन भइसकेपछि मतगणना कार्य जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबिमा हुने बताइएको छ ।

दार्चुलामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेको तर्फबाट गणेशसिंह ठगुन्ना, सत्तारूढ गठबन्धनको तर्फबाट दिलेन्द्रप्रसाद बडू, राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देववहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीबाट तारा दत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेशसभा क्षेत्र १ मा नेकपा एमालेको तर्फबाट हरदेब जोशी, गठबन्धनको तर्फबाट बिक्रमसिंह धामी, स्वतन्त्र उम्मेदवार शंकरसिंह धामी, राप्रपाबाट चक्रबहादुर बम र संघीय लोकतान्त्रिक मञ्चबाट नन्दी कामीको उम्मेदवारी छ । प्रदेशसभा क्षेत्र २ मा एमालेबाट रामदत्त जोशी, गठबन्धनबाट मानबहादुर धामी, राप्रपाबाट अमरसिंह धामी र संघीय लोकतान्त्रिक मञ्चबाट गगन ठगुन्नाको उम्मेदवारी छ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?