दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा अवस्थित लटिनाथ नमुना माबि (टेक्स कार्यक्रम) चन्दनपुर चौपाताको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शनिबार (आज) आयोजित अभिभावकहरुको भेलापछि परमानन्द जोशीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । लेकम गाउँपालिकाका निर्वतमान अध्यक्षसमेत रहनुभएका जोशीको नेतृत्वमा सहमतिमै विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रधानाद्यापक केशवराज बिष्टले जानकारी दिनुभयो ।
शिक्षा नियमावली अनुसार शनिबार विद्यालयमा बसेको अभिभावक भेलाले निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएका पण्डित जयदेब बिष्ट, हरसिंह खत्री, भागरथी दमाई र हेमन्ती बोहरागरी चार जना विद्यालय व्यवस्थापन समितिका सदस्य चयन गरेको थियो । भेलाबाट चयन भएका चार जना सदस्य र विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव एबं प्रधानाद्यापक केशवराज बिष्ट लगायत सरोकारवालाहरुको बैठकले शिक्षा नियमावली अनुसार परमानन्द जोशी र मुन्निलाल बिष्टलाई विद्यालय व्यवस्थापन समिति सदस्य मनोनित गरेको थियो । व्यवस्थापन समिति सदस्यहरु चयन भएपछि बसेको बैठकले सदस्यहरुमध्येबाट परमानन्द जोशीलाई अध्यक्ष चयन गरेको विद्यालयका सहायक प्रधानाद्यापक महेशराज जोशीले बताउनुभयो । नौँ सदस्यिय समितिमा वडाअध्यक्ष र एक जना शिक्षक प्रतिनिधि समेत सदस्य रहने बताइएको छ ।
विगतमा लटिनाथ नमुना माबि चौपाताको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर जिम्मेवारी वहन गरिसकेका जोशी फेरी सहमतिमै अध्यक्षमा चयन हुनुभएको हो । यसअघि अध्यक्ष भइसकेपछि पण्डित जयदेब बिष्ट अध्यक्ष रहेको कार्यकालमा जोशी समिति सदस्य रहनुभएको थियो भने अहिले जोशीको अध्यक्षतामा गठन भएको समितिमा पण्डित जयदेब बिष्ट सदस्य रहनुभएको छ । अहिलेसम्म सहमतिमै विद्यालय व्यवस्थापन समिति गठन हुँदै आएको र समिति सदस्य र अभिभावकहरुमा सौहार्दता रहेको प्रधानाद्यापक बिष्टले बताउनुभयो । विद्यालयको समग्र विकासमा व्यवस्थापन समितिको महत्तपूर्ण भूमिका रहने विश्वास अभिभावकहरुले व्यक्त गरेका छन् ।
यसैबिच शनिबार आयोजित अभिभावक भेलाले लटिनाथ नमुना माबि चौपाताको शिक्षक अभिभावक संघ कार्य समिति समेत गठन गरेको छ । फुलुरी खत्री (फुलमती) को अध्यक्षतामा ११ सदस्यिय शिक्षक अभिभावक संघ गठन गरिएको हो । सदस्यहरुमा धनश्याम जोशी, मनिदत्त बिष्ट, अबिंर सिंह बोहरा, केशबदत्त जोशी, चन्चल सिंह खत्री, भानदेब जोशी, दिपक साउँद, ऐन बहादुर पाल र कमला धामी रहेका छन् । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठक बसेर आजै बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया