दार्चुला । नेकपा एमालेको बैतडी जिल्ला कमिटीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ । मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटीको बुधबार बसेको बैठकले पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।
प्रदेशसभा सदस्य तथा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न प्रदेश कमिटिलाई सिफारिस गरिएको जानकारी दिनुभयो । एमालेका प्रदेश कमिटी सचिवालय सदस्य रहेका चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको पालले बताउनुभयो ।
चन्द ३० वशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । ४ मंसिरमा सम्पन्न भएको निर्वाचनबाट प्रतिनिधिसभामा एमालेका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी र प्रदेशसभा १ मा जिल्ला अध्यक्ष विजयी हुनुभएको थियो । तर उहाँको क्षेत्रमा पर्ने प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार लिलाधर भट्ट भने झिनो मतान्तरले पराजित हुनुभएको थियो । भट्ट पराजित हुनुमा चन्दको असहयोग प्रमुख कारण रहेको एमालेको जिल्ला कमिटीले निश्कर्ष निकालेको छ ।
पञ्चेश्वर गाउँपालिका अध्यक्ष चन्दलाई कार्वाही सिफारिस गरिएको विषयमा एमाले बैतडीका सचिव एबं दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीलाई बुझ्दा पञ्चेश्वर गाउँकमिटीको निर्णय र अन्य विभिन्न प्रमाणको आधारमा निर्वाचनमा एमाले उम्मेदवारलाई असहयोग गरेको सूचना आएपछि प्रदेश कमिटीलाई सिफारिस गरिएको जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया