दार्चुला । जागरण मिडिया सेन्टरले हिंसा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । दार्चुला सदरमुकाम खलंगामा आयोजित अन्तरक्रियामा हिंसा न्यूनिकरणमा सरोकारवालाहरुको भूमिका र हिंसामा परेका नागरिकहरुलाई कानूनि सहायताबारे छलफल गरिएको छ । जिल्ला प्रशासन, सरकारी वकिल कार्यालय, नेपाल बार, गैसस, नगरपालिका, सुरक्षा र सञ्चार क्षेत्रसंग सम्बन्धित प्रमुख एबं प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा जागरण मिडिया सेन्टरका पैरवी अधिकृत सुरेश सेरालाले जागरण मिडिया सेन्टरले जिल्लामा गरिरहेका गतिविधि र हिंसाको अवस्थाबारे प्रस्तुती राख्नुभएको थियो ।
जागरण मिडिया सेन्टरले दार्चुलाको महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा कानूनि सहायता सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पैरबी अधिकृत सेरालाका अनुसार हालसम्म न्यायमा पहुँच अभिबृद्धि गर्नका लागि समुदाय स्तरमा कानुनी सचेतना १६ सय जनालाई प्रदान गरिएको छ । यस्तै कानूनी घुम्ती शिविर कार्यक्रमबाट २०० जना र समुदायस्तरका अन्तरक्रिया कार्यक्रमबाट १०० जना लाभांबित भएको उहाँले बताउनुभयो ।
महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री बिष्टले नगरपालिकाको न्यायिक समितिबाट समेत समाधान गर्न मिल्ने घटनाहरुमा छलफल गर्ने गरिएको र कानूनी दायरामा ल्याउनुपर्ने घटनाहरु प्रहरी र अदालतमा पठाउने गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागिहरुले मदिराका कारण घरेलु तथा लैंगिक हिंसाका घटनाहरु बढ्दै गएको र हिंसा नियन्त्रणमा चुनौती थपिएको धारणा राखेका थिए । पीडितहरुले विभिन्न कारणले कानूनि सहायता पाउनबाट समेत बञ्चित हुनुपर्ने अवस्था रहेको बताइएको छ । नेपाल बारका प्रतिनिधि धिरेन्द्र साउँदले आर्थिक अवस्था कमजोर भएका नागरिकको लागि निःशुल्क कानूनी सहायताको व्यवस्था भएपनि गाउँबाट पीडितहरुले जिल्ला सदरमुकाम आएर न्यायिक प्रकृयामा सहभागि हुँदा धेरै खर्च र झन्झट हुने गरेको बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया