प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज, यस्तो बन्दैछ मन्त्रीमण्डल, भारत र चीनको बधाई

दार्चुला । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुदैछ । उहाँले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लाग्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनियताको शपथ खुवाउनुहुनेछ ।

प्रचण्डले आइतबार प्रतिनिधि सभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । सोही दिन राष्ट्रपति भण्डारीले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थन सहित प्रधानमन्त्री बनेकाले उहाँहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राख्नुभएको छ । सुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने प्रचण्डको तयारी रहेको उहाँको सचिवालयले जनाएको छ ।

साढे दुई वर्षपछि सत्ताकेन्द्रमा एमालेको पुनरागमन
करिब दुईतिहाइ बहुमतको सरकार गुमाएको एमालेले साढे दुई वर्षमा सत्ताकेन्द्रमा ‘कम ब्याक’ गरेको छ । तत्कालीन नेकपाभित्रको एउटा हिस्सा माओवादीलाई शनिबार सरकारको नेतृत्व दिँदै अध्यक्ष केपी ओलीले एमालेलाई सत्ताको केन्द्रमा फर्काउनुभएको हो । किचलो उत्कर्षमा पुगेर समयसीमा घर्किनै लाग्दा अध्यक्ष ओलीको ‘रणनीतिक मुभ’सँगै वाम नेतृत्वको सरकार बनाएर तलैसम्म कांग्रेसलाई प्रतिपक्षमा सीमित गर्ने एमाले योजनाले सफलता हासिल गर्‍यो ।

ओली र प्रचण्डलाई देउवाको त्यो फोन
प्रचण्ड बालुवाटारबाट हिँडेपछि देउवाले ओलीलाई फोनमा भने– ‘पाँच वर्ष पूरै कार्यकाल प्रधानमन्त्री हुनुस्, कांग्रेसले लिखित सहमति गरेरै समर्थन गर्छ, धेरै दल मिलाएर सरकार चलाउनुभन्दा एकल सरकार चलाउन सजिलो हुन्छ ।’

ओलीले जवाफ फर्काए– ‘तपाईंको सद्भावका लागि धन्यवाद, अहिले प्रचण्डजी आइसक्नुभएको छ, उहाँको कुरा सुन्छु, अहिलेलाई होइन, तपाईंले अर्कोपटकका लागि गर्नुहोला ।’

ओलीको जवाफ सुनिसकेपछि देउवाले प्रचण्डलाई फोन गरेर भने, ‘तपाईंलाई नै पहिलो कार्यकाल प्रधानमन्त्री बनाउने निर्णय भइसक्यो, फर्किनुस्, थप सल्लाह नै नगरी तपाईं हिँड्नुभो ।’

प्रचण्डले जवाफ फर्काए, ‘व्यक्तिगत रूपमा मेरो त्यस्तो केही छैन, मिलेर जाऊँ भन्ने मात्र हो, तपाईंको प्रस्ताव ढिलो आयो, म साथीहरूसँग छु, निचोडमा पुगिसकेकाले आउने सम्भावना छैन ।’

प्रचण्डलाई भारत र चीनको बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई नेपालमा रहेको चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।

नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड हिजो आइतवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज सोमवार पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत् बधाई दिनुभएको हो।

दुवै राजदूतले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई दिँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताउनुभएको थियो । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत् ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ भन्नुभएको छ ।

भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री प्रचण्डको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्याउने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?