मन्त्रिपरिषदको पहिलो बैठकः जनतामा नयाँ आशा र भरोसा बढेको प्रतिक्रिया, प्रवक्तामा लामिछाने

दार्चुला । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री नबनेसम्मलाई लामिछानेलाई प्रवक्ता जिम्मेवारी दिइएको हो ।

त्यस्तै, बैठकपछि नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा आमरुपमा आशा र भरोसा बढेको देखिएको बताउनुभएको छ । उहाँले आफूहरुको अगाडि थुप्रै जटिलता र चुनौतीहरु भए पनि गएको निर्वाचनको परिणमअनुसार मन्त्रिपरिषदले समेटेको बताउनुभयो । ‘हाम्रो अगाडि, देशको अगाडि पक्कै पनि चुनौतीहरु, जटिलताहरु छन् । तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा जस्तो परिणाम देखिएको छ त्यसलाई यो मन्त्रिपरिषदले समेटेको छ । र एउटा आशा जगाएको छ । हामीले भर्खरै पहिलो बैठक सक्यौं ।’, प्रधानमन्त्री प्रचण्डले थप्नुभयो, ‘सबैभन्दा पहिलो कुरा त नेपालको अर्थतन्त्रको स्थितिलाई सुधार्ने, सुशासनतर्फ गम्भीर भएर अघि बढ्ने कुरा, सार्वजनिक सेवा प्रवाहमा जनताले सास्ती पाउने कुरामा ध्यान दिएर त्यसका समाधानका निम्ति केन्द्रीत भएर अघि बढ्ने संकल्प गरेका छौं ।’

स्वतन्त्रतापूर्वक कार्य गर्न सक्छु भन्ने लागेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘केही गरौं भन्नेहरुकै टिम बनेको छ, त्यसकारण मलाई सहज लागेको छ ।’

थप समाचारहरु हेर्नुहोस
प्रधानमन्त्री प्रचण्डद्वारा सिंहदरबार पुगेर पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज (सोमवार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सिंहदरबारमा रहेको प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । नेकपा एमालेसहित सात दल र तीन जना स्वतन्त्र सांसदको समर्थन पाएपछि उहाँ हिजो आइतवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार पुग्नुभएका दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले स्वागत गरेका थिए । प्रधानमन्त्रीको पद बहालीलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

यसैबिच नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै प्रधानमन्त्री दाहाल लैनचौरमा रहेको शहीद स्मृति स्मारकमा पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसअगत्तै प्रधानमन्त्री दाहाल कीर्तिपुर पुग्नुभएको हो । नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा पार्क निर्माण गरिएको छ । पार्कभित्र उहाँको सालिकमा प्रधानमन्त्रीले माल्यार्पण गर्नुभयो । यस्तै प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गर्नुभएको छ । माओवादीले जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका एवम् बेपत्ता भएका योद्धाको स्मृतिमा स्तम्भ निर्माण गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई देउवाको बधाई
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएको छ । आज सोमवार नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिनुभएको हो । शपथ ग्रहण कार्यक्रममा देउवा पनि पुग्नुभएको थियो । देउवा शपथ ग्रहणमा पुगे पनि कार्यक्रम नसकी बीचमै मञ्च छोडेर जानुभएको थियो ।

पासपोर्ट र लाइसेन्स लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने मन्त्रिपरिषदको निर्णय
सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो । राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिने निर्णय भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ । त्यस्तै लाइसेन्स दिने कार्यालयमा पनि भीड हुने अवस्थाको अन्त्य गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद बैठकले अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने गरी सेवामा सुधार गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

अर्थतन्त्र सुधार्न विज्ञसँग छलफल गर्छु, धेरै मेहनत गर्नुपर्छ: मन्त्री पौडेल
नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सङ्कटको डिलमा रहेको देशको अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताउनुभएको छ । आज सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकारवाला सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले चुनौतीपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतीको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्दै पहिचान गरी सामाधान गर्ने भन्दै अर्थ जगतका सबैलाई अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्रमा देखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरू के–के हुन् र समाधानका लागि कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा अर्थतन्त्रका जानकारसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारी पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्र अहिले सङ्कटको डिलमा छ । अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि हामीले धेरै मेहनत गर्नुपर्छ । विश्वका अनुभव, नेपालमा विगतमा गरिएका अनुभवका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रका जानकारसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारीमा आएको छु । बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समग्र अर्थ जगतलाई विश्वास दिलाउन चाहन्छु, सबैसँग संवादमा रहेर समस्या पहिचान गर्ने र समाधान खोज्नका निम्ति कार्यसम्पादन गर्नेछु । अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह छ । अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्न सकिन्छ ।’ अर्थमन्त्री पौडेलले सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गर्नुभएको छ । उहाँले अर्थ मन्त्रालयअन्तर्गतका विभाग र मन्त्रालय मातहतका निकायमा अहिले रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

भ्रष्टाचार गर्ने, आफू अनुकूल कानुन बनाउने दिन गए: मन्त्री श्रेष्ठ
नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताउनुभएको छ । आज सोमवार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताउनुभएको हो । उहाँले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको उल्लेख गर्नुभयो । उहाँले नागरिकले कानुनसम्मत रहेका कुनै पनि कामलाई भनसुन नगरिकन र घुस नखुवाइकन गर्नसक्ने बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

केपी शर्मा ओली र माधव नेपाल सँगसँगै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँगसँगै बस्नुभएको छ । २०७७ सालमा नेकपा विभाजन भएपछि ओली र नेपाल सँगसँगै देखिनुभएको थिएन । माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेदेखि त् झन् दुई जना नेताबीच बोली बाराबार र गालीगलौज नै चलेको थियो ।

निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णय

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उहाले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिनुभयो ।

पार्टी खोलेको ७ महिनामै रवि लामिछाने उपप्रधानमन्त्री
पार्टी खोलेको सात महिनामै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने उपप्रधान एवं गृहमन्त्री बन्नु भएको छ । संचारकर्मी हुँदै राजनीतिमा छलाङ मार्नु भएका लामिछानेले गृह जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै सामाजिक संजाल प्रयोगकर्ताले लामिछानेलाई निर्मला पन्तका हत्यारा पत्ता लगाउने,भ्रष्टाचार निर्मूल पार्ने, गुण्डागर्दी हटाउने,देशको शान्ति सुरक्षा मजबुद पार्ने जस्ता काम गर्न सुझाव दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी २० सीटसहित प्रतिनिधि सभामा चौथो ठूलो दल बनेको छ । पुराना र बृद्ध नेताहरुलाई राजनीतिबाट बिदा गर्नु पर्छ भन्दै आउनु भएका लामिछाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधान एवं गृहमन्त्री बन्नु भएको हो ।गत असार ७ गते रविले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?