दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा जारी स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्यांकन कार्यबिधि अनुसार दार्चुला जिल्लाका नौँ वटै स्थानीय तहको मुल्यांकन हुदा जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिका प्रथम भएको छ ।
१०० पुर्णाङ्कमा ८०.५ अंक ल्याएर महाकाली नगरपालिका प्रथम भएको हो । नौगाड गाउँपालिकाले ७४ अंक, अपि हिमाल गाउँपालिकाले ५८.५ अंक, मार्मा गाउँपालिकाले ५७ अंक, मालिकार्जुन गाउँपालिकाले ५६.५ अंक, शौल्यशिखर नगरपालिकाले ५५ अंक, व्याँस गाउँपालिकाले ५२ अंक, लेकम गाउँपालिकाले ४३.५ अंक र पुछारमा रहेको दुहुँ गाउँपालिकाले ३६ अंक प्राप्त गरेको जिल्ला समन्वय समिति दार्चुलाका नायब सुब्बा गणेश बहादुर पालले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८/०७९ को स्थानीय तहहरुले तयार गरेको प्रारम्भिक नतिजाका आधारमा दाबी गरेर पठाएका अंकलाई जिल्ला समन्वय समितिले प्रमाणित गरेपश्चात् २०७९ माघ २७ गते बसेको बैठकपश्चात नतिजा सार्वजनिक गरिएको हो । वित्तीय सुशासन अभिवृद्धि गर्नका लागि स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधि सम्मत र प्रभावकारी बनाउन तथा वित्त व्यवस्थापनको सम्भावित जोखिम क्षेत्रहरूको पहिचान र यसको लेखाजोखा गर्ने उद्देश्यले यस्तो मूल्यांकन गर्ने गरिएको छ ।
जिल्ला समन्वय समितिले तयार पारेको उक्त नजिता नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रादेशिक सुशासन केन्द्र पुन्ना डोटीलाई समेत पठाइएको छ । यो मूल्यांकनको आधारमा पालिकाहरुले पाउने अनुदान केही थपघट हुने बताइएको छ ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया