दार्चुला । आज विश्व क्षयरोग दिवस । ‘हामी सबै मिलेर क्षयरोग अन्त्य गर्न सम्भव छ’ भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरी दार्चुलासहित देशभर मनाइएको छ । दार्चुलाको लेकम, शैल्यशिखर नगरपालिका लगायत विभिन्न स्थानीय तहमा क्षयरोग विरुद्धको दिवस मनाइएको हो । शैल्यशिखरमा वडाअध्यक्ष प्रजावती पाण्डेयको अध्यक्षतामा आयोजित सचेतनामुलक अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख शान्ति खडायतको प्रमुख आतिथ्यता रहेको थियो । गोकुलेश्वर अस्पतालका विरामीलाई फलफुल वितरण र सचेतनात्मक अन्तरक्रिया गरेर मनाइएको दिवसमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, गोकुलेश्वर अस्पतालका डाक्टर पुजा बम लगायतको आतिथ्यता रहेको नगर स्वास्थ्य संयोजक शिवदत्त जोशीले जानकारी दिनुभयो । अन्य विभिन्न स्थानीय तहले समेत क्षयरोग विरुद्धको दिवस मनाएको जानकारी दिएका छन् ।
नेपालमा हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने गरेका राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्क छ । नयाँ–पुराना गरी अहिले एक लाख १७ हजारभन्दा धेरै क्षयरोगका सक्रिय बिरामी रहेका अनुमान छ । यस्तै, क्षयरोगका कारण झण्डै १७ हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ । क्षयरोग लागेको पहिचान भएपछि डाक्टरको सिफारिसमा ६ महिनासम्म औषधि खानुपर्छ । दैनिक ६ महिनासम्म औषधि खाँदा क्षयरोग पूर्ण रुपमा निको हुन्छ । तर, बिरामीले औषधि खान लापरबाही गरे रोग निको हुँदैन । जटिलता बढ्दै जान्छ । बिरामीको ज्यान समेत जाने जोखिम हुने डाक्टरले बताएका छन् । सरकारले क्षयरोगको औषधि उपचार निःशुल्क दिँदै आएको छ । तर, चेतनाको अभावका कारण अझै पनि रोग लुकाउने गरेकाले नियन्त्रणमा चुनौती थपिएको छ ।
सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र राति राति ज्वरो आउने जस्ता लक्षण देखिए क्षयरोग भएको हुनसक्छ । तर, कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन । क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाहरुको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुरोध छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया