दार्चुला । शुक्रबार बर्षासंगै परेको असिनाले दार्चुलाका बिभिन्न गाउँका किसानले लगाएको बालीनाली सखाप बनाएको छ । आसिना पानीले किसानले लगाएको तरकारी, फलफुलका साथै गहुँ, जौँ लगायत अन्नबाली सखाप पारेको हो । असिनाले सबैभन्दा बढी क्षती दार्चुलाको अपिहिमाल गाउँपालिकामा पुर्याएको छ ।
बारीमा लगाएको सबै बालीनाली असिनाले सखाप पारेको अपिहिमालका स्थानीय उर्मिला बोहराले बताउनुभयो । हिउँदे वर्षा र हिमपात नभएको कारण अधिकासं बालीनाली खेतमै सुकिसकेको थियो । सिञ्चित र ओसिलो ठाउँमा पाक्नै लागेको बालीमा क्षती पुरयाएपछि कृषकहरु चिन्तित बनेका छन् । प्रमुख खाद्य बालीमध्येको गहुँमा ठूलो क्षति पुगेपछि खाद्यान्न संकट हुने भन्दै कृषकहरु चिन्तित भएका हुन् । असिनाले जौँ, गहुँका बोटहरु ढलाएर सखाप पारेको उहाँको भनाई छ । मुखमै आउन लागेको अन्नको भाग असिनाले खोसिदिएपछि किसानलाई वर्षभरि खानेकुराको जाहो गर्नै गार्हो हुने भएको छ । असिनाले किसानले बारीमा लगाएको फलफुलका बोटहरु र तरकारी समेत नष्ट गरेको अपिहिमालका अर्का स्थानीय पार्वती रोकयले बताउनुभयो ।
शुक्रबार राती अपिहिमाल गाउँपालिकाका विभिन्न वडामा परेको भारी असिना पानीले गहुँसहित अन्य हिउँदे बाली र तरकारीमा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । अपिहिमाल लगायतका हिमाली स्थानीय तहमा यो वर्ष हिउँदे वर्षा र हिमपात निकै कम भएको छ भने चैतको मध्यमा परेको असिनाले बालीनाली सखाप बनाएको छ ।
अन्य क्षेत्रमा समेत पछिल्लो केही दिनयता मौसममा बदली भइ हल्का वर्षा भइरहेको छ । बदली र वर्षाका कारण मध्यचैतमा समेत पुसको जस्तै चिसो हुँदा जनजीवन प्रभावित बनेको स्थानीयबासीन्दाले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया