२०८० को पहिलो दिन नयाँ दशक, वर्ष र बिसु पर्व मनाइदै

दार्चुला । नयाँ वर्ष २०८० सालको पहिलो दिन वैशाख १ गते बिसु पर्व, मेष संक्रान्ति । यो नयाँ वर्षमात्र हैन दशकको शुभारम्भ भएको पावन अवसरमा सञ्चारकर्मी मित्रहरुसहित सबै पेशाकर्मी, आदरणीय र आत्मिय श्रोतावर्ग, विज्ञापनदाता, आफन्त, इष्टमित्र, शुभचिन्तक एबं समस्त नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एबं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !

यस वर्ष त नव वर्ष संगै नव दशक नै सुरु भएको छ । ७० को दशक वाट अब ८० को दशकमा पाइला टेकेका छौँ । हरेक नकारात्मक शक्तिहरूलाई २०७९ मै छाडेर सकारात्मक उत्साह र ऊर्जा लिएर अघि बढ्ने शक्ति हामी सबैलाइ प्राप्त होस । व्यक्तिगत रुपमा मेरा लागि ७० को दशक संघर्ष र सिकाईको समय रह्यो । सामाजिक रुपमा पनि पछिल्लो दशकमा हामीले धेरै उतारचढाव अनि रुपान्तरणहरु देख्यौँ भोग्यौँ । देशले संबिधान पायो, चुनावसंगै संघीयता कार्यान्वयनमा महत्तपूर्ण कामहरु भए । भूकम्प, कोराना जस्ता अकल्पनीय महामारी र विपद्को पनि सामना गर्नुपर्यो । सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलाको लेकम गाउँपालिकामा प्रधान कार्यालय राखेर हामीले सञ्चारको क्षेत्रमा सामाजको ऐना रेडियो लोकदर्पण, लोकदर्पण टिभी डटकम अनलाइन र विभिन्न अन्य सामाजिक सञ्चारमाध्यमको स्थापनाद्धारा सुशासनसहितको आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहयात्रा गर्ने प्रयत्न गरिरहेका छौँ । विभिन्न समस्या र चुनौति तथा अभावहरुका बाबजुत ग्रामीण क्षेत्र लेकमको रिठाचौपाताबाट हरेक दिन १८ घण्टा शिक्षा सूचना, समाचार र मनोरञ्जनका विभिन्न सामाग्रीसहित रेडियो लोकदर्पण घन्कीरहेको छ । अब नयाँ वर्ष अनि दशकमा सूशासन र सञ्चारको क्षेत्रमा बाँकी धेरै सपनाहरु सकार पार्नुछ, रेडियोको क्षमता र गुणस्तर विस्तार गरेर मल्टिमिडियामा जानुछ, यहाँहरुको निरन्तरको साथ र सहयोग अझै अभिबृद्धि हुनेछ भन्ने पूर्ण विश्वास समेत लिएका छौँ ।

भारतको उज्जैनका पौराणिक राजा विक्रमादित्यले चलाएको संवत्को रूपमा विक्रम संवत्लाई चिनिन्छ । केही इतिहास विद्हरूले विक्रमादित्यको अस्तित्वको पुष्टि नभएको हुँदा विक्रम संवत् नेपालको मौलिक संवत् भएको तर्क समेत गर्दछन् । अहिले विश्वभरि नै यो संवत्लाई आधिकारिकता दिएको देश नेपाल मात्र हो । अन्य एसियाली राष्ट्र भारत, बङ्गलादेश र श्रीलङ्कामा भने यसलाई सांस्कृतिक क्यालेन्डरका रूपमा लिइन्छ । यो संवत् सूर्य मेष राशिमा प्रवेश गरेको दिन अर्थात् वैशाख १ गतेबाट प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई मेष सङ्क्रान्ति पनि भनिन्छ । विक्रम संवत् अङ्ग्रेजी संवत्भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ । त्यसै गरी, यो नेपाल संवत् भन्दा ९ सय ३६ वर्ष ६ महिना अगाडि छ भने शक संवत् भन्दा १३५ वर्ष अगाडि, कली संवत् भन्दा ३०४४ वर्ष पछाडि र हिजरी संवत् भन्दा ६३६ वर्ष अगाडि छ । विक्रम संवत्का समग्र तिथि मितिहरू पृथ्वी र चन्द्र बिचको कोण अनि अवस्थितिमा फरक पर्दछन्, त्यसैले यसलाई चन्द्र मास पनि भनिन्छ । नयाँ वर्षको दिन सुदूरपश्चिममा बिसु पर्व, भक्तपुरमा बिस्काः जात्रा, तराईमा सिरुवा पर्व, जुडशीतल, ठिमीमा जिब्रो छेड्ने जात्रा, सिन्दूर जात्राहरू पर्दछन् ।

सुदूरपश्चिममा ‘बिसु’ पर्व धुमधाम
दार्चुला, बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ । यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउने परम्परा छ ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ । सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको बुढापाखाहरु बताउछन् । पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन कम हुँदै गएको छ । सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनुपूर्व नै घर रातो माटो र कमेरोेले लिपपोत गर्ने गरिन्छ । नयाँ वर्ष आउनुभन्दा अघि नै घर लिपपोत गरेमा वर्षभरि सुख, शान्ति र समृद्धि आउँछ भन्ने विश्वास रहिआएको छ । वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन छ । बिसु मनाउन रोजगारीका लागि अन्यत्र गएकाहरु घर फर्किने गरेका छन् । सुदूरपहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन् । आज बिहानैदेखि पवित्र नदीमा स्नान गर्ने गरिन्छ ।

आजको स्नानले शरीरमा भएको विषाक्त पदार्थ हटेर जाने र जीवन विषमुक्त हुने विश्वास गरिन्छ । आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्वका रूपमा लिने गरिन्छ । यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा आज विशेष पूजाआजा तथा मेला लाग्ने गर्दछ । आजको दिन इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्कालगायत परिकार खाँदै बिसु मनाउने गर्दछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?