दार्चुला । दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जना यार्सागुम्बा संकलकको अझैँ उद्धार हुन सकेको छैन। जिल्लाको व्याँस गाउँपालिका–२ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, दुहुँकै वडा नम्बर १ पिपलचौरी बास्पालीका ३८ वर्षीय आन सिंह महरा र उहाँकी ३३ वर्षीया श्रीमती मानमती महराको उद्धार हुन नसकेको हो।
शनिबार राती चट्याङ लागेर उहाँहरु घाइते भएका थिए। घटनास्थल दुम्लिङबाट एक दिनको पैदल दूरीमा पर्छ। बाटो पनि अप्ठेरो भएकाले प्रहरी टोली पनि उक्त स्थानमा अझैँ पुग्न सकेको छैन। हेलिकोप्टर पठाएर घाइतेहरुको उद्धार गर्न खोजिएपनि मौसमको प्रतिकुलताले सम्भव नभएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । आज भर्खरै उद्दारका लागि सुर्खेतबाट सेनाको हेलिकप्टर दार्चुला सदरमुकाम खलंगा आइपुगेको छ, प्रजिअ जोशीले भन्नुभयो, मौसमले साथ दिए आज नभए भोलि विहानसम्म उद्दार कार्य हुन्छ ।
दुदिवन नजिकको हुँम्दुङतीमा चट्याङ लागेर यार्सागुम्बा संकलक घाइते भएको खबरपछि जिल्ला प्रहरी कार्यालयले आइतबार बिहान प्रहरी चौकी दुम्लिङबाट टोली त्यता परिचालन गरेको थियो। उक्त टोली अझैँ नपुगेको प्रहरीले जनाएको छ। चट्याङ लागेर घाइते भएकाको उद्दारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना भइरहेको छ । पीडित परिवारले छिटो उद्दार गरिदिन अनुरोध गरिरहेका छन् ।
गरिलिन गत १९ गते व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुममा हिमपहिरो जाँदा ५ जना यार्सा संकलकको ज्यान गएको थियो। ७ जनाले भागेर ज्यान जोगाएका थिए। दार्चुलाका सर्वसाधारण जोखिम मोलेर यार्सागुम्बा संकलन गरिरहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया