दार्चुला। सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् । सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेर स्थानीयस्तरमा रहेका एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिएको छ । सुदूरपश्चिममा एक सय ७६ एम्बुलेन्स सञ्चालनमा छन् । त्यसमध्ये एक सय २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ ।
एम्बुलेन्सलाई व्यवस्थित गर्न एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७३ सञ्चालनमा ल्याएपछि देशैभरिका एम्बलेन्सलाई एउटै नेटवर्कमा समेट्न खोजिएको छ । एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस प्रणाली जडान गरिने व्यवस्थाअनुसार दर्ता भइरहेका छन् ।
प्रादेशिक एम्बुलेन्स केन्द्रका स्रोतव्यक्ति उत्तम उपाध्याय आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको दायित्व पूरा गर्न देशभरका एम्बुलेन्सलाई एउटै ट्र्याकबाट सञ्चालन गर्न जिपिएस प्रणालीमा ल्याउने प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
“प्रणालीमा जोडिएका एम्बुलेन्स कुन अवस्थामा र कहाँ छन् भन्ने जानकारी सहजै प्राप्त हुनेछ”, उपाध्यायले भन्नुभयो, “कुनै बिरामीलाई एम्बुलेन्स चाहिए १०२ मा फोन गरेपछि नजिकै रहेको एम्बुलेन्स सो बिरामीलाई लिन जान्छ, जिपिएसमा जडान भएपछि कुनै पनि एम्बुलेन्सले खाली छैनौँ, टाढा छौँ भनेर बिरामीलाई झुक्याउन सक्दैनन् ।”
एम्बुलेन्समा जिपिएस प्रविधि जोडिएपछि सेवाग्राहीले कन्ट्रोल रुममा फोन गरेर आफ्नो नजिकमा रहेका एम्बुलेन्सबाट तत्काल सेवा पाउन सक्नेछन् । जिपिएस नेटवर्किङमा आएपछि सेवाग्राहीले १०२ नम्बरमा फोन गरे नजिकमा रहेको एम्बुलेन्सबारे जानकारी प्राप्त गर्ने छन् । सुदूरपश्चिममा १०२ मा फोन उठ्न सुरु भइसकेकाले अबका केही दिनमा यो प्रणाली सुरु हुने उपाध्यायले बताउनुभयो ।
“बाँकी रहेका एम्बुलेन्सलाई पनि यही महिनाभित्र प्रणालीमा दर्ता गर्ने गरी काम भइरहेको छ, पहिले तोकेको समयमा नआएकाहरु छुटेका हुन्, फेरि पाँच दिनको समय दिँदैछौ”, उहाँले भन्नुभयो, “यसबाट बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन छिटोछरितो एम्बुलेन्स सेवा प्राप्त हुनेछ, साथै बिरामीले सहज उपचार सेवा पाउनसमेत सहयोग पुग्नेछ ।”
एम्बुलेन्सलाई सुविधाका आधारमा ‘क’, ‘ख’ र ‘ग’ गरेर तीन समूहमा वर्गीकरण गरिएको छ । रासस
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया