
दार्चुला । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहीत विपरीत अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभएको छ ।
नेता ठगुन्नाले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गैर जिम्मेवार पूर्ण अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको मुटु हो, नंग्रा माग्ने कुरा सह्य हुदैन भन्दै अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ, “प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यूको भारत भ्रमणको बेला कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई सुम्पेर बंगलादेश जानेबाटो माग्ने कुरा उठाएको सन्दर्भ विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको मुटु हो । मुटु काटेर हातखुट्टा का नंग्रा माग्ने कुरा कुनैपनि देशभक्त नेपालीहरुलाई सह्य छैन । यदि यो कुरामा सत्यता छैन भने सरकारले तत्काल खण्डन गर्नु पर्दछ । यदि सत्यता हो भने यस्तो राष्ट्रघाती सोच लेण्डुप दोर्जे प्रवृतिको नेपाली रुपान्तरण हो । यसका विरुद्ध निरन्तर लड्नु हाम्रो कर्तव्य हो ।”
प्रधानमन्त्रीले पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिनुभएको छ। अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ ।
एमालेले प्रधानमन्त्रीले भारत भ्रमणअघि संसदमा उठान गर्ने भनेका विषयहरू किन उठाउन नसकेको भन्ने प्रश्न गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच भएको एमाले नेताहरूले प्रतिक्रिया दिइरहेका छन ।