दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका गाउँकार्यपालिकाको २० औं बैठक शुक्रबार (आज) टिंकरमा बस्न लागेको छ । व्याँस गाउँपालिका-१ टिंकर ताक्लाकोट नाका तत्काल खोल्न र टिंकरसम्म सडक छिटो खुलाउन राज्यको ध्यानाकर्षण गराउने उदेश्यले अन्तर्राष्ट्रिय सीमा नजिकैको दुर्गम गाउँ टिंकरमा बैठक आयोजना गरिएको व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले जानकारी दिनुभयो ।
चीनिया पक्ष टिंकर नाका खोल्नका लागि सकारात्मक भएपनि नेपाल सरकार यस विषयमा संवेदनशील नदेखिएको उहाँको भनाइ छ । ताक्लाकोट नाका खोल्न सरकारलाई पटकपटक आग्रह गर्दा समेत कुनै चासो नदिएकोले दबाब स्वरुप गाउँपालिको टिमले टिंकरमा बैठकको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष धामीले बताउनुभयो । सीमा नाका बन्द छ, छाङरू र टिंकरवासीले आफ्नै गाउँ जान भारतीय बाटो प्रयोग गर्नुपर्छ, उहाँले भन्नुभयो, कैलाश पर्वत हिन्दूको महत्वपूर्ण तीर्थस्थल हो, जहाँ प्रत्येक वर्ष लाखौं भक्तालुले दर्शन गर्छन्, गाउँ जाने बाटो र नाका खुले यहाँका स्थानीयलाई सहज हुन्छ ।
गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुवँर, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम सहित कार्यपालिका सदस्यहरू बैठकका लागि टिंकर पुगेका छन् । व्याँसको छाङरू र टिंकर गाउँ अतिक्रमित सीमा क्षेत्र नजिकका बस्ती हुन् । यहाँ स्थानीयसंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति छ । यहाँ राष्ट्रिय सीमा स्तम्भ पनि निर्माण गरिएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया