टिङ्करमा व्याँस गाउँकार्यपालिका बैठक: सीमाका मुद्धा उठान, छाङरुमा राष्ट्रिय झण्डा फहराइयो

पुष्पराज जोशी, दार्चुला । दार्चुलाको अन्तिम गाउँ चीनिया सीमा नजिकको बस्ती टिङ्करमा पहिलो पटक व्याँस गाउँपालिकाले कार्यपालिका बैठक सम्पन्न गरेको छ । छाङरु, टिङ्करबासीको पीडा सुन्ने र त्यहाँका मुद्धा उठाउने उद्धेश्यले कार्यपालिका बैठक टिङ्करमा राखिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो ।

स्थानीय घरेलु मदिरालाई ब्यवस्थित गर्न र वैधानिकताका लागि सम्बन्धित निकायसित पहल गर्ने, टिङ्कर नाका सन्चालन, बोर्डर आउट पोष्ट (वीओपी) स्थापना, व्याँसमा पर्यटन प्रवद्र्धन लगायतका विषयमा निर्णय गर्दै व्याँस गाउँकार्यपालिकाको २० औँ बैठक व्याँस गाउँपालिकाको अन्तिम गाउँ टिङ्करमा सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष विनोद कुवँरले बताउनुभयो । नेपाली भूमिमा चाँडो बाटो निर्माण गरेर भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता हटाउनु पर्ने स्थानीयले जनप्रतिनिधिसँग माग गरेका छन् । कोरोना महामारीपछि चीनसँग जोडिएको ताक्लाकोट नाका बन्द रहेकोले नाका खुलाउन सरकारसंग जोडदार माग गर्ने निर्णय गरिएको छ । अरु सबै नाका खुलेपनि ताक्लाकोट नाका अझै खुलेको छैन, हामीले केही महिनाअघि काठमाडौँ गएर नाका खोल्न माग गरेका थियौँ,’ गाउँपालिका प्रवक्ता उपेन्द्र धामीले भन्नुभयो, नाका खोल्न फेरि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ ।

छाङरु र टिङ्कर जोड्न बाटो निर्माणका लागि यसपटक बजेट निकै कम विनियोजन गरिएको छ,’ धामीले भन्नुभयो, यसरी बाटो पुग्न वर्षौ लाग्ने देखिन्छ, निकट भविष्यमै बाटो पुर्याउन दबाब दिन्छौँ । जेठ २५ गते भारतसँग अनुमति मागेर कार्यपालिकको टोली भारतीय बाटो हुँदै छाङरु र टिङ्कर गएको थियो । व्याँस जोड्ने गोरेटो बाटोमा करोडौँ खर्च हुँदा समेत मानिसले आवतजावत गर्न सक्ने राम्रो बाटो समेत नबनेको भन्दै स्थानीयले समिति र सरोकारवालाको विरोध गरेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिङ्कर सडकमा समेत प्रयाप्त बजेट नहुदा अपेक्षित प्रगति हुन सकेको छैन् । अतिक्रमित सीमा नजिकका गाउँ छाङरु र टिङ्करमा व्याँसी सौँका समुदायको बसोबास रहेको छ । स्थानीयले व्याँसका जनप्रतिनिधिलाई छाङरु र टिङ्करमा भव्य स्वागत गरेका थिए ।

छाङरुमा नेपाली राष्ट्रिय झण्डा
दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भमा नेपाली झण्डा फहराइएको छ । शनिबार व्याँस गाउँपालिकाले १५ फिट अग्लो राष्ट्रिय स्तम्भमा नेपाली झण्डा राखेको हो । व्याँस गाउँपालिकाले २०७९ असोजमा करिब १५ लाख बढीको लगानीमा छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भ बनाएको थियो । यसअघि राखिएको झण्डा च्यातिएकोले नयाँ झण्डा राखेका छौँ, व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले भन्नुभयो, त्यसमा यसअघि नै चुच्चे नक्सा राखिएको छ ।

छाङरु र टिङ्करमा राज्यको बलियो उपस्थिति देखाउनुका साथै देश–विदेशमा नेपाल चिनाउन स्तम्भ बनाइएको अध्यक्ष धामीले बताउनुभयो । भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमुनिका बस्ती छाङरु र टिङ्कर पुग्न नेपाली भूमिमा बाटो नहुँदा भारतको बाटो प्रयोग गर्नु पर्ने त्यहाँका स्थानीयको बाध्यता छ । केपी शर्मा ओली नेतृत्वको सरकारको पाला भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको थियो । कालापानी क्षेत्र समेटेर नक्सा जारी भए पनि त्यो क्षेत्र अझै नेपालले पाएको छैन । कालापानीमा भारतले ठूलो ब्यारेक बनाएर सेना राखेको छ ।

सायद ९ जना मानिसहरू को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?