सुदूरपश्चिममा ‘लम्पी स्किन’रोगबाट १० हजार पशुचौपायको मृत्यु

दार्चुला । लम्पी स्किन रोगका कारण सुदूरपश्चिम प्रदेशमा १० हजार ९३९ पशुको मृत्यु भएको छ । पछिल्लो समय गाई भैँसीमा महामारीको रूपमा देखिएको यो रोगबाट प्रदेशको नौ वटै जिल्लामा पशुचौपायाको मृत्यु हुने क्रम बढेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार प्रदेशभरि दुई लाख ७९८ पशु सङ्क्रमित छन् । जुन यहाँ रहेको जम्मा गाई भैँसीमध्ये १२।६९ प्रतिशत सङ्क्रमण हो ।

लम्पी स्किन रोगबाट सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पशु चौपाया मरेको प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले बताउनुभयो । देशभरि २५ हजार चार सय ८ पशु मरेका छन् । यसैगरी, देशभर छ लाख ८२ हजार ८० पशु सङ्क्रमित भएका छन् । लम्पी स्किन रोगको सङ्क्रमण भैँसीभन्दा गाईमा अझै बढी देखिएको छ । मृत्युको सङ्ख्या पनि गाईकै बढी रहेको छ ।

प्रयोगशाला कार्यालयका अनुसार १२ हजार ५६५ पशु चौपाया सङ्क्रमित रहेको कैलालीमा सबैभन्दा बढी तीन हजार ६७७ चौपाया मरे । यस्तै, कञ्चनपुरमा ६७५ पशु सङ्क्रमित भएकोमा १८ मरेका छन् । डडेल्धुरामा ३२ हजार ४५० पशु सङ्क्रमित छन् । सो जिल्लामा हालसम्म ७७१ चौपायाको मृत्यु भएको छ ।
यसैगरी, बैतडीमा आठ हजार २३६ पशु चौपाया सङ्क्रमित भएकोमा हालसम्म ५२५ मरेको जनाइएको छ । दार्चुलामा ३३ हजार ३३० पशु सङ्क्रमित छन् । यो जिल्लामा हालसम्म एक हजार १६९ चौपाया मरेका प्रयोगशालाले जानकारी दिएको छ । डोटीमा २३ हजार ८३७ पशु सङ्क्रमित छन् । यो जिल्लामा हालसम्म ६८२ चौपाया मरेको जनाइएको छ ।

यस्तै, अछाममा ३२ हजार ५७७, बझाङमा २४ हजार २८ र बाजुरामा ३३ हजार एक सय पशुचौपाया लम्पी स्किन रोगबाट सङ्क्रमित छन् । यी जिल्लाहरूमा क्रमशः एक हजार ६७८, एक हजार ६९० र ७२९ पशु चौपाया रोगका कारण मरेका डा. जोशीले जानकारी दिनुभयो ।

यो रोगबाट सङ्क्रमित गाई भैँसीको दूध घट्ने, छालामा गाठागुँठी देखिने, नाक, मुखमा घाउ आउने, उच्च ज्वरो आउने, आँखा, नाकबाट तरल पदार्थ बगिरहने जस्ता लक्षण देखा पर्ने गरेको जनाइएको छ। समयमै उपचार नपाए बिरामी पशु मर्ने गरेको छ । पशु चौपायामा लाग्ने किर्ना, झिँगा लगायतको टोकाइबाट यो रोग पशुहरूमा सर्ने गरेको बताइन्छ । यसैगरी, पशु उपचार गर्ने क्रममा एउटै सुई प्रयोग गरिएमा पनि रोग एक पशुबाट अर्कोमा सर्ने गरेको जनाइएको छ ।

पशुलाई लम्पी स्किन रोगबाट जोगाउनका लागि जैविक सुरक्षाको उपाय अपनाउनु पर्ने डा. जोशीले बताउनुभयो । उहाँका अनुसार यो रोग लागेका पशुको लक्षण अनुसारमात्रै उपचार हुने गरेको छ । यदि, ज्वरो आएको छ भने ज्वरो घटाउने औषधि दिनुपर्छ । रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?