दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई पुर्व सतर्कता तथा सावधानी अपनाउन आग्रह गरेको हो ।
भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु जुनसुकै बेला पनि खोलिने भन्दै भारतीय प्रशासनले नेपाली प्रशासनलाई शुक्रबार पत्राचार गरेको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रतिदिन बृद्धि भईरहेको हुँदा जुनसुकै बेला पनि बाँधका ढोकाहरु खोलिन सक्ने छन् ।
महाकालीको तटीय क्षेत्र पर्ने दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर ५ धौलाकोट देखि लेकम गाउँपालिकाको लाली सम्मका नागरिकलाई नदी छेउछाउ नजान र पूर्व सतर्ककता अपनाउन सूचना मार्फत भनिएको छ ।
धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन्। दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ। यसअघिका वर्ष पनि बेलाबेला बाँध खोलिएको थियो। विसं २०७० मा धौलीगंगाकै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौंको क्षति भएको थियो।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया