महेश प्रसाद जोशी (सहायक प्राध्यापक)
सुदूरपश्चिम विश्वविद्यालय
दार्चुला वहुमुखी क्याम्पस, दार्चुला ।
सार
शैक्षिक क्षेत्रमा ग्रामीण विकास अध्ययनको भूमिका विषयमा अध्ययन गरिएको यस अध्ययनमा नेपालको ग्रामीण क्षेत्रमा यसको भूमिका के-कस्तो रहेको छ भन्ने कुरा देखाउन खोजिएको छ । पृष्ठभूमिमा ग्रामीण विकास सम्वन्धी सामान्य परिचय राखिएको छ । यसको शीर्षकलाई नै समस्याका रुपमा लिइएको यस अध्ययनमा अध्ययनको सामान्य महत्व, अध्ययन विधि र त्यसपछि शीर्षकसँग सम्वन्धित व्याख्या विश्लेषण गरिएको छ । अन्तमा निष्कर्ष प्रस्तुत गरिएको छ ।
१. पृष्ठभूमि
नेपाल एक भौगोलिक विविधताले भरिएको भुपरिवेष्ठित राष्ट्र हो । नेपालको ८२.९३% भुभाग ग्रामीण क्षेत्रले ओगटेको छ । नेपालको अधिकतम पहाडी क्षेत्रमा ग्रामीण बस्तीहरु रहेका छन् । नेपालको ग्रामीण क्षेत्रहरु भौगोलिक रुपमा विकट र विकासको हिसावले पछि परेका छन् । अधिकतम ग्रामीण क्षेत्रमा विकासका पुर्वाधारहरुको उपलब्धता हुन सकेको छैन । ग्रामीण विकास शिक्षाले दक्षता हासिल गर्न नसकेता पनि नेपालको माटो सुहाउने शिक्षा बनेको छ । ग्रामिण विकास शिक्षा भित्र समाजशास्त्र, भुगोल, ईतिहास लगायतका विभिन्न विषयको ज्ञान समेटिएकोले नेपालको ग्रामीण क्षेत्रको मौलिक ज्ञान, प्रविधि, सिप,अभ्यास लाई विस्तार गर्ने र व्यवस्थापकिय दक्षता भएको जनशक्ति उत्पादनका लागि यो शिक्षा अपरिहार्य छ । त्यसै गरि ग्रामीण विकास विषयमा उत्पादन भएको जनशक्ति लाई विद्यालय देखि विश्व विद्यालयमा अध्यापनका लागि,सरकारी तथा गैर सरकारी संस्थाकाहरुमा निकै प्राथमिकता दिने गरेको पाईन्छ । अझ भनौ भने अहिले देशले भोगिरहेको संघीयताको शुरुवात, अवरोध जस्ता नकारात्मक कार्यबाट बच्नका लागि पनि ग्रामिण विकास शिक्षा लाई अझ विस्तार गरी प्रत्येक क्षेत्रमा ग्रामिण विकास दक्ष जनशक्ति परिचालन गरि स्रोत र साधनको सहिसदुपयोग हुने देखिन्छ ।
२. समस्या कथन
कुनै पनि अध्ययनको समस्या भनेको कुन विषवस्तुमा अध्ययन गर्ने हो भन्ने कुरा महत्वपूर्ण हुने गर्दछ । अर्को शव्दमा भन्नुपर्दा विषयको शीर्षक नै मुख्य समस्या हो । अनुसन्धान गर्नु भनेको कुनै पनि समस्याको समाधान खोज्नु हो । अनुसन्धानका निम्ति छनौट गरिएको विषयवस्तुलाई नै समस्याको रूपमा प्रस्तुत गरिन्छ । शोधकार्यका सिलसिलामा समस्या भन्नाले अनुसन्धेय समस्या वा अनुसन्धानको विषयवस्तु भन्ने बुझ्नु पर्दछ (बन्धु, २०६५ः१७) ।क्षैक्षिक क्षेत्रमा ग्रामीण विकासको अध्ययनसँग सम्वन्धित यस अध्ययनका समस्या निम्न रहेको छ:
क) शैक्षिक क्षेत्रमा ग्रामिक विकास अध्ययनको भूमिका केकस्तो रहेको छ ?
३. उद्देश्य कथन
कुनै पनि कार्य निश्चित लक्ष्य र उद्देश्यका साथ गरिन्छ । उद्देश्यले कार्यलाई उचित मार्ग प्रदान गर्दछ । तसर्थ शोधकार्यको निश्चित लक्ष्य र उद्देश्य हुन्छ । अनुसन्धानका क्रममा भनिएको प्राज्ञिक प्रश्नको समाधान नै उद्देश्य हो (निउरे र घिमिरे: २०७०) । समस्या कथनमा उठाइएका मूलभूत प्रश्नहरूको समाधान गर्नु नै शोधकार्यको उद्देश्य हो । क्षैक्षिक क्षेत्रमा ग्रामीण विकासको अध्ययनसँग सम्वन्धित यस अध्ययनको उद्देश्य निम्न रहेको छ:
क) शैक्षिक क्षेत्रमा ग्रामिण विकास अध्ययनको भूमिकासम्वन्धी चर्चा गर्नु ।
४. अध्ययनको महत्व
कुनै पनि विषयको अध्ययन आफैमा महत्वपूर्ण हुने गर्दछ । यो अध्ययन शैक्षिक क्षेत्रमा ग्रामिण विकासको अध्ययनसँग सम्वन्धित भएकाले एकातिर शिक्षा क्षेत्रमा ग्रामीण विकासको अवस्था तथा भूमिकाका विषयमा जानकारी गराउने छ भने अर्कोतिर यससँग सम्वन्धित भावी अध्ययनकर्ताहरुलाई मार्गदर्शनको काम गर्ने हुनाले यस अध्ययनको विशेष महत्व रहने छ ।
५. अध्ययन विधि
कुनै पनि अध्ययनलाई सफलतापूर्वक सम्पन्न गर्न निश्चित विधि र प्रक्रिया अपनाउनुपर्ने हुन्छ । शैक्षिक क्षेत्रमा ग्रामीण विकाससँग सम्बन्धित यस अध्ययनका लागि व्याख्यात्मक एवम् विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यस अध्ययनमा सम्वन्धित विषयवस्तुसँग मेल खाने पूर्व प्रकाशित पुस्तक, लेख, तथ्यांक आदिलाई प्राथमिक स्रोतका रुपमा उपयोग गरी तिनीहरुवाट प्राप्त तथ्यांकहरुका आधारमा व्याख्या विश्लेषण गरिएको छ ।
६. शैक्षिक क्षेत्रमा ग्रामीण विकास अध्ययनको भूमिका
नेपाल एक भौगोलिक विविधताले भरिएको भुपरिवेष्ठित राष्ट्र हो । नेपालको ८२.९३% भुभाग ग्रामीण क्षेत्रले ओगटेको छ । नेपालको अधिकतम पहाडी क्षेत्रमा ग्रामीण बस्तीहरु रहेका छन्। नेपालको ग्रामिण क्षेत्रहरु भौगोलिक रुपमा विकट र विकासको हिसावले पछि परेका छन्। अधिकतम ग्रामीण क्षेत्रमा विकासका पुर्वाधारहरुको उपलब्धता हुन सकेको छैन । त्यस ठाउँको मुख्य पेशा परम्परागत प्रविधिमा आधारित कृर्षि तथा पशुपालन रहेको छ । विकासका पुर्वाधारहरुमा पहुँच पुग्न नसकेको समाजमा रहेका विभिन्न समस्याहरु बेरोजगारी, असमानता, पछौटेपन, अशिक्षा जस्ता कारणले नेपालको ग्रामिण क्षेत्रको जीवन निकै कष्टकर रहेको छ। ग्रामीण क्षेत्रमा रहेको असमानता, पछौटेपन, अशिक्षा, बेरोजगारी जस्ता समस्याहरु लाई न्यूनिकरण गर्दै ग्रामीण क्षेत्रको सम्रग उन्नतिका लागि नेपाल सरकारले विभिन्न समयमा निति तथा कार्यक्रम र आवधिक योजनाहरु बाट केही परिवर्तन ल्याउने जमर्काे नगरेको भने होईन । सरकारको “समृद्ध नेपालःसुखी नेपालीको” नारालाई साकार पार्नको लागि नेपालको दुई तिहाई भन्दा बढी क्षेत्रमा फैलिएको ग्रामीण क्षेत्रलाई विकास गर्नु वर्तमान समयको मुख्य ध्येय हो ।
वास्तममा ग्रामीण क्षेत्रमा भौतिक पुर्वाधारको विकासका साथै ग्रामीण क्षेत्रको सामाजिक, आर्थिक तथा राजनैतिक पक्षमा सकारात्मक सुधार गरि ग्रामीण जनताको जीवनस्तर लाई उच्च पार्दै उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता बहुपक्षिय क्षेत्रमा प्रगती गर्नु नै ग्रामीण विकासको मर्म हो ।
ग्रामीण क्षेत्रका विभिन्न पक्षहरु जस्तै सामाजिक, आर्थिक,राजनैतिक,साँस्कृतिक,प्राविधिक पुर्वाधार संस्थागत जस्ता विविध पक्षहरुको गुणात्मक तथा सकारात्मक सुधार हुनु नै ग्रामीण विकास हो । यसै गरि आर्थिक वृद्धि, आम्दानी,स्वास्थ्य,लैंगिक तथा असमानतामा सुधार,वातावरण संरक्षणका साथै ग्रामीण जिवन स्तरमा दीर्घकालिन परिवर्तन ल्याउने कुरा संगै पनि ग्रामीण विकासले सरोकार राख्दछ । केन्द्रले बनाएको योजना जतिसुकै उत्तम भएता पनि कार्यान्यवन गर्ने तहमा दक्ष तथा ग्रामिण विकासको ज्ञान भएको अधिकारी नभएको कारणले नेपालको ग्रामीण विकाससको यात्रामा निकै प्रतिकुल प्रवाह परेको देखिन्छ । ग्रामीण विकास केवल योजनाको कार्यान्वयन तथा पुर्वाधार निर्माण संग जोडि हेर्ने हो भने त्योअन्यायपुर्ण हन जान्छ , ग्रामिण विकास आफैमा एक बहुआयामिक विषय हो । यसले ग्रामीण क्षेत्रको भौतिक विकास साथै ग्रामीण जीवनशैलीलाई उन्नत पार्दै ग्रामीण सुखि र समृद्ध नागरिकको कल्पना गर्दछ ।
नेपालको विकास यात्रामा ग्रामीण विकास अत्यन्तै महत्वपुर्ण मानिन्छ । ग्रामीण विकास नभईकन सहरी विकासको थालनीले ग्रामीण क्षेत्र पछाडी परिरहेको छ । विकास लाई सार्थकता दिनको लागि पहिला ग्रामीण विकास हुनु पर्दछ । विकासका लागि प्रमुख कुरा भनेको जनताको जीवनस्तरमा सुधार, रोजगारीको सृजना, उद्योग कलकारखानको विकास, साधन र स्रोतको उपयोग तथा जीवनउपयोगी शिक्षाको विकास हुनु पर्दछ । तर अहिले विकासमा यस्ता कुराहरु पछि परेका छन् ।ग्रामीण क्षेत्रमा रहेका सिमान्तकृत, पिछडीएका वर्ग, महिला, आदिवासि, दलित,जनजाती तथा गरिव वर्गको उत्थान हुने खालको विकास ग्रामिण क्षेत्र बाट थालनी गर्नु पर्दछ । नेपालको कुल क्षेत्रफलको ८२.९३% भुभाग ग्रामिण क्षेत्रमा रहेको छ । नेपालका ६५%मानिसहरु कृर्षि क्षेत्रमा आश्रित रहेका छन् । नेपालको कुल जनसंख्याको ४०.३४% मा ५४% युवाहरु बेरोजगार रहेका छन् । नेपालको कुल भुभाग मध्ये धेरै भुभाग ग्रामिण क्षेत्रमा रहेको छ । नेपालका ग्रामिण क्षेत्रमा रहेका धेरै मानिसहरु गरिवीको रेखामुनि रहेको अवस्थामा ग्रामीण कृर्षिलाई आधुनिकीकरण गर्दै «भौगोलिक विकटता लाई चिरेर समग्र क्षेत्रको विकास गर्नु निकै चुनौतिपुर्ण रहेको छ ।
नेपलाको ग्रामिण विकासको ईतिहास लाई हेर्दा वि.स. २००८ सालको त्रिभुवन विकास कार्यक्रम हुदै वि.स २०१३ साल बाट शुरुवात गरिएको आवधिक योजनाहरुमा ५ वटा त्रिवर्षिय योजना र १०वटा पंचवर्षिय योजनामा आईपुग्दा सम्म सोचेको उपलब्धी हासिल हुन सकेको छैन । विगत ६ दशकको ग्रामिण विकासको यात्रा सुखद नहुनुको पछाडि धेरै कारणहरु छन् । शहर केन्द्रीत योजना निर्माण, विविध राजनैतिक घटनाक्रम घटीरहनु, गृहयुद्ध र राजनैतिक परिवर्तन तथा संक्रमण कालको प्रभाव लगायतका तत्वहरुको यथेष्ट प्रवाह रहेको कुरा नकार्न सकिदैन । तर त्यसका साथ साथै नेपालको ग्रामीण विकासले गति नलिनुमा केन्द्रिय स्तरमा निति तथा योजना निर्माण गरि सम्पुर्ण भुगोलमा एकै किसिमले प्रयोग गर्न खोज्नु र स्थानिय स्तरको ज्ञान सिप क्षमता तथा स्रोत साधनको समुचित परिचालन गर्नको लागि ग्रामीण विकासमा दख्खल राख्ने दक्ष जनशक्तिको अभाव हुनु हो ।
विश्व ईतिहासमा विकासित राष्ट्रहरुले यो कुरा लाई कालान्तरमै बुझेर अंगिकार गरे, उनीहरु आज हाम्रो तुलनामा निकै अगाडी बढीसकेका देखिन्छन् । खासगरी पहिलो र दोस्रो विश्व युद्धको कारणले ध्वस्त भएको विश्वलाई पुनःनिर्माण गर्ने सन्दर्भमा अफ्रिकाको घाना बाट विकास हुन गएको ग्रामिण विकासको अवधारणा हाल विश्वका धनि राष्ट्रहरु अमेरिका, क्यानडा, अष्टे«लिया जस्ता देशहरुमा निकै अभ्यासमा रहेको छ । यसरी ग्रामीण विकासको अवधारणलाई विश्वसामु प्रस्तुत गर्ने श्रेय रोवर्ट च्याम्बर र ह्यारी ट्रुम्यान लगायतका विद्धानहरुलाई जान्छ । ग्रामीण विकास नगरि देशको अर्थतन्त्र माथि उठ्न सक्दैन । एकहोरो सहरीक्षेत्रको विकास हुन गएमा ग्रामीण क्षेत्र झन पछि पर्नगई सहरी क्षेत्रमा जनसंख्या वृद्धि तथा बसाईसराईका नकारात्मक असरहरु पर्नुका साथै ग्रामिण क्षेत्रहरु झनै बन्जर हुने तथ्यलाई मध्यनजजर गर्दै विश्वका विभिन्न विकसित तथा विकासिल मुलुकहरले १९६० कै दशक देखि ग्रामीण विकास लाई प्राथमिकता दिए । तर ग्रामीण विकास लाई द्रुतगतिमा अगाडि बडाउन ग्रामीण विकास व्यवस्थापन गर्न सके दक्ष जनशक्तिको आवश्यकता महसुस हुन जान्छ । फलस्वरुप विद्यालय शिक्षा देखि स्नात्तकोत्तर शिक्षासम्म ग्रामिण विकास विषय समावेस गर्न थालियो । ग्रामिण विकास शिक्षा लाई छुट्टै विधाका रुपमा स्नातकोत्तर तह सम्म संचालन गरी निकै चर्चा र सफलता कमाउन सफल भएका ब्राण्डेन युनिभरसिटी क्यानडा र छिमेकि राष्ट्र भारतको हैदराबाद ईन्दहर तथा मद्रास रुलर युनिभर्सिटिहरुको सफलता देखेर नेपालमा पनि वि.स. २०५८।०५९ सालमा स्नात्तकोत्तरमा ग्रामीण विकास विषय लाई संचालन गरेको पाईन्छ । केन्द्रीय विभाग त्रि.विको पहलमा नेपालको भु-बनोट र अवस्थालाई हृदयसंगम गरि ग्रामीण स्थानहलाई सहरी सुविधाको स्तरमा स्तरोन्नती गर्नका लागि यस विषयको आवश्यकता र उपायदेयता लाई समयमै अनुसरण गरेको देखिन्छ । शुरुमा त्रि.वि केन्द्रीय विभागमा अध्यापन शुरु गरेको ग्रामीण विकास विषय अहिले सुदूरपश्चिम विश्व विद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगर, कंचनपुर लगायत आंगिक क्याम्पसहरु टिकापुर बहुमूखि क्याम्पस, कैलाली, बाजुरा बहुमूखि क्याम्पस बाजुरा,जयपृथ्वी बहुमुखि क्याम्पस बझाङ्ग र दार्चुला बहुमूखि क्याम्पस खलंगा, दार्चुला त्यसैगरी त्रिभुवन विश्वविद्यालय अन्र्तगत महेन्द्र बहुमुखि क्याम्पस विराटनगर, ग्रामिण आदर्श बहुमुखि क्याम्पस, पाटन संयुक्त बहुमुखि क्याम्पस लगायत दर्जनौ क्याम्पसमा स्नाकोत्तर तहमा छुट्टै विधाका रुपमा पढाई हुन्छ । यसका साथै मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतका आगिंक क्याम्पसहरुमा समेत ग्रामिण विकास विषयको अध्ययन अध्यापन भईरहेको पाईन्छ ।शुरुकै वर्षहरुमा विद्यार्थिको उल्लेखिय सहभागिता रहेको यस विषयमा ३०० जना भन्दा बढीले विशेषज्ञता हासिल गरिसकेका छन् । निजि स्तरमा खोलिएका सेन्ट जेभियर लगायतका प्रख्यात क्याम्पसहरुमा समेत ग्रामिण विकास विषयको आकर्षण बढ्दो छ । त्यसोत माध्यमिक तहमा समेत पाठ्यक्रम निर्माण भई यस विषयको अध्ययन भईरहेको छ ।
ग्रामीण शिक्षा नेपालको माटो सुहाउँदो शिक्षा हो यस अन्तरगत ग्रामिण विकास व्यवस्थापनका साथ साथै समाजशास्त्र, राजनितीशास्त्र, भुगोल, ईतिहास, अर्थशास्त्र लगायतका विभिन्न विषयको ज्ञान समेटिएको छ । आज नेपालको ग्रामिण क्षेत्रमा रहेको मौलिक ज्ञान, प्रविधि, सिप अभ्यास लाई प्रवद्र्धन तथा गाउँको ज्ञान तथा सिपको प्रयोग गर्दै ग्रामीण उत्पादन प्रविधि,संस्कृति,मौलिकता, सौन्दर्यता आदीको विकास तथा विस्तार संगै समग्र पक्षको विकासका लागि व्यवस्थापकिय दक्षता भएको जनशक्ति उत्पादनका लागि यो शिक्षा अपरिहार्य देखिएको छ । ग्रामीण विकास शिक्षाको माध्यमबाटै नेतृत्व विकास, स्थानिय क्षेत्रको अवसर र चुनौतिको पहिचान, क्षेत्रगत कार्यक्रम, गरिवी घटाउँ कार्यक्रम सिपमुलक कार्यक्रम, महिला उत्थान कार्यक्रम , बचत तथा रिण कार्यक्रम पुर्वाधार विकास कार्यक्रम शेक्षिक विकास, सुचना तथा सञ्चार विकास, जस्ता विभिन्न कार्यक्रमहरु ल्याएको पाईन्छ । यस कारण विकासको स्वाद लाई राम्रो संग परिचित गराउन पनि ग्रामिण स्रोत, साधन, संरचना र मानव संसाधन जस्ता विविध पक्षमा सुधार ल्याउनु आवश्यक छ । यस्ता विभिन्न क्षेत्रहरुमा विकास गर्नका लगि ग्रामीण विकास शिक्षाको अपरिहार्यता दिन दिनै बढ्दो छ ।
नेपाल जस्तो पहाडी ग्रामिण क्षेत्रहरुले भरिभराउ भएको राष्ट्रमा ग्रामीण क्षेत्रहरुको विकासले मात्र सम्रग राष्ट्रको विकास सम्भव हुन्छ । यही कुरालाई मनन गरि नेपाल सरकारले पन्ध्रौँ योजनाको आधारपत्र तयार पारेको छ । उक्त योजनाले सन् २०२२ सम्ममा विकासिल राज्य हुदैं २०३० मा मध्यम आय भइको मुलुकमा स्तरोन्नती गर्ने लक्ष्य लिइएको छ । यस सन्दर्भमा ग्रामीण विकास सम्बन्धि विशेषज्ञता हासिल गरेको जानशक्तिको निकै ठुलो आवश्यकता रहन जान्छ । जबकी वर्तमान समयमा ग्रामीण विकास शिक्षा हासिल गरेको जनशक्ति न्युन छ । भएको जाशक्तिले बेरोजगार हुन परेको छ । ग्रामिण विकासमा उच्च शिक्षा हासिल गरेको जनशक्ति लाई विद्यालय देखि विश्वविद्यालयमा अध्यपनका लागि, सरकारी र गैर सरकारी क्षेत्रका साथै सामाजिक परिचालको क्षेत्रमा काम गर्ने NGO INGO हरुमा निकै प्राथमिकता दिने गरेको पाईन्छ । विगतमा
नेपाल सरकारको “समृद्ध नेपाल शुखि नेपालीको” नारा साकार पार्नका लागि ग्रामीण विकास शिक्षा लाई अझै बढावा दिनु पर्ने देखिन्छ । फेरि हाम्रो जस्तो विकासोन्मुख संरचना बाट बाटो तय गर्न र बढिरेको परनिर्भरता लाइ कम गर्न गाउँले उत्पादनमा जोड दिन पनि यो शिक्षाको महत्व बढेको हो । नेपाल जस्तो बाहुल्यतामा रहेको मुलुकले देशमा छट्टै ग्रामिण विकास विश्वविद्यालय खोलि पठनपानठन गर्नुका साथै ग्रामिण विकासमा टेवा पुर्याउने गरि ग्रामिण विकास योजना तथा अध्ययन केन्द्र खोल्न सक्नु पर्दछ । यो आधारलाई नबुझिकन अगाडी बढ्न नसकेको र निर्भर बन्न नसकेको यो परिवेशमा ग्रामीण विकास शिक्षा अनिवार्य गर्नुत छदैछ यसको विकास र विस्तारका लागि थप भौतिक तथा वित्तिय स्रोत साधनकोव्यवस्था गरिनुका साथै ग्रामीण विकासका सन्दर्भमा योजना तर्जुमा गर्दा सम्बन्धित विषय विज्ञ तथा देशले भोगिरहेको संघियताको शुरुवातको अवरोध जस्ता नकारात्मक कार्यबाट बच्नका लागि पनि ग्रामीण विकास शिक्षा लाई अझ विस्तार गरि प्रत्येक स्थानीय निकायमा एक जना ग्रामिण विकास अधिकृतको छुट्टै दरबन्दी कायम गर्नु पर्ने देखिएको छ ।
८. निष्कर्ष
ग्रामीण विकासको अवधारण अनुसार पाठ्यक्रम समावेश गरिएको धिमा प्रणालीलाई अझै व्यवस्थित गर्दै लैजानु पर्ने आवश्यकता रहेको छ । ग्रामीण विकास समय परिस्थिति र परिवर्तन भए संगै विकासका अवसरहरु विश्वव्यवपी रुपमा परिवर्तन हुने भएकोले पाठ्यक्रममा समेत समयानुकुल परिमार्जन गर्दै लैजानु पर्ने देखिन्छ ।
सन्दर्भ सामाग्रीः
- पन्ध्रौ पञ्चवर्षिय योजना आधार पत्र २०७६।७७ —२०८१।८२
- राष्टिय योजना आयोाग
- आर्थिक वर्ष २०७६⁄२०७७ को बजेट
- khanal,shreeram 2010,2074
- ghatanarabichar.com
- npc.gov.np
- wikipedia.org
- masterstudies.com⁄master⁄ruraldevelopment
- rajdhani.com
- newyorksamachar.com

(लेखक महेश प्रसाद जोशी सुदूरपश्चिम विश्वविद्यालय, दार्चुला वहुमुखी क्याम्पस, दार्चुलामा सहायक प्राध्यापक हुनुहुन्छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया