दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकालाई सदरमुकाम खलंगासंग जोड्ने एकमात्र महाकाली कोरिडोर अन्तरगत निर्माणाधिन दार्चुला–टिंकर सडक अवरुद्ध हुँदा कृषि उत्पादन खेतबारीमै कुहिन थालेको छ । दार्चुला–टिंकर सडकको दुहुँ गाउँपालिका–३ तिमुरपाटा र वडा नम्बर ५ को गरमोरा क्षेत्र, व्याँस गाउँपालिका–६ तङलेभिर लगायत क्षेत्रमा सडक माथिबाट आएको पहिरोका कारण यातायातका साधनहरु चल्न सकेका छैनन् ।
खेतबारीमा उत्पादन गरेको आलुले बजार नपाउदा किसान चिन्तित बनेका छन् । सडक अवरुद्ध हुँदा व्याँसमा उत्पादित आलुले बजार पाउन नसकेको व्याँस गाउँपालिका कृषि शाखा प्रमुख विशेश्वरप्रसाद बडूले बताउनुभयो । व्याँसमा देखिएको आलुको बजारीकरणको समस्या समाधान सम्बन्धि मंगलबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन समेत गरिएको छ । पत्रकार सम्मेलनमा व्याँस गाउँपालिकामा अध्यक्ष मंगलसिंह धामीले उत्पादन गरिएको आलु गाउँलेहरुलाई बितरण गर्नु बाहेकको अन्य बिकल्प नरहेको धारणा राख्नुभयो । अध्यक्ष धामीले भन्नुभयो, दार्चुला–टिंंकर सडक ठाउँठाउँमा अवरुद्ध छ, आफ्नो गाउँपालिकामा उत्पादन गरिएको आलु बजारसम्म ल्याउन सडक बाटो नभएका कारण गाउँलेहरुलाई आलु बितरण गर्नु बाहेक अन्य कुनै बिकल्प छैन । गाउँपालिकासँग चिस्यान गृह (कोल्ड स्टोर) नभएको भन्दै अध्यक्ष धामीले आलु कुहिएर खेर जानु भन्दा गाउँलेलाई बितरण गर्नु उपयुक्त रहेको बताउनुभयो ।
वर्षातको समय सुरु भएसंगै सडक अवरुद्ध भएपछि ढुवानी गर्न नसकिएर व्याँस गाउँपालिकाका विभिन्न वडाहरुका किसानले व्यक्तिगत तथा सहकारी, समूहमार्फत उत्पादन गरेका कृषि उपजहरु खेतबारीमै कुहिन थालेको जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष अकवर सिह धामीले जानकारी दिनुभयो । गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएका कृषि उत्पादनहरु खेतबारीमा कुहिन थालेपछि किसानहरु चिन्तित बनेको उहाँले बताउनुभयो । सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषि उपजहरुको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्याँसका कृषकहरुको माग छ ।
जनभावना साना किसान कृषि सहकारी संस्थाका साथै विभिन्न व्यक्ति र समुहले गाउँपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा उतपादन गरेको छ सय क्विन्टल आलु खेतबारीमै कुहिन थालेको व्याँसका कृषि शाखा प्रमुख विशेश्वर बडूले बताउनुभयो । सडक अवरुद्ध छ, ढुवानी गर्न नसकिदा किसानले उत्पादन गरेको कृषि उपज खेतबारीमै कुहिन थालेको छ, उहाँले भन्नुभयो, एक क्विन्टल आलु खेतबाट निकालेर कुहीने अवस्थामा छ भने पाँच क्विन्टल आलु खेतबाट निकाल्न नै बाँकी रहेको छ । कृषि उत्पादनको बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषि उपज खेतबारीमै कुहिने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।
महाकाली कोरिडोर योजनाले सडक सञ्चालनका विषयमा गत असार २५ गते नै स्थानीय तहहरुलाई आफ्नो क्षेत्रमा पर्ने सडक अवरुद्ध भए सञ्चालनमा ल्याउन पत्राचार गरेर पन्छिएको छ । ठेक्का सम्झौता भई काम चलिरहेको ठाउँमा सडक अवरुद्ध भए सम्वन्धित ठेकेदार कम्पनिले र बाकी क्षेत्रमा स्थानीय सरकारको क्षेत्राधिकार भित्रको सडकमा स्थानीय सरकारले नै सडक संचालन गर्नु पर्ने महाकाली कोरिडोर (दार्चुला–टिंकर सडक) आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीद्धारा हस्ताक्षरीत पत्रमा भनिएको छ । तत्काल सडक खुलाएर कृषि उत्पादनलाई बजारसम्म पुर्याउन पहल गरिदिन स्थानीयले गाउँपालिकासंग अनुरोध गरिरहेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले समेत सडक योजना कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवालाहरुलाई अवरुद्ध सडक सञ्चालनमा ल्याइदिन अनुरोध गरेपनि अहिलेसम्म सडक खुलाउने काम हुन सकेको छैन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया